• गृहपृष्ठ
  • गर्भवती बोक्ने एम्बुलेन्स लडिया र बुकी

गर्भवती बोक्ने एम्बुलेन्स लडिया र बुकी

Oct 16th, 2019

काशीराम शर्मा
बाँके, २९ असोज (रासस)

नेपालगञ्ज–२० मनिकापुरमा पहाडी र मधेसी समुदायको बराबरीजस्तै बसोबास छ । यहाँका नागरिकमा आफ्नो स्वास्थ्यप्रति सजग रहनुपर्छ भन्ने चेतनास्तर धेरै बढेको छ । नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनुपर्छ भन्ने चेतनास्तरलाई पनि उत्तिकै बढाएको छ ।
 
चेतनास्तर बढेकै कारण मनिकापुर स्वास्थ्यचौकीमा नियमित गर्भ जाँच गर्न आउनेको भीड लाग्ने गरेको छ । “अब त चेतनास्तर पनि बढेको छ, घरमै सुत्केरी हुँदा जोखिम हुन्छ भन्ने बुझेका छन्”, स्वास्थ्यचौकीकी अनमी आशा सार्कीले भन्नुभयो । नियमित गर्भ जाँच गर्दा र स्वास्थ्य संस्थामै बच्चा जन्माउँदा सरकारले प्रोत्साहन भत्ता दिने गरेकाले पनि सहयोग पु¥याएको छ ।
 
“पहिला गाह्रो थियो, अहिले त स्वास्थ्य संस्थामा भीड नै लाग्छ”, अनमी सार्कीले भन्नुभयो । तर, स्वास्थ्यचौकीमा एम्बुलेन्स नहुँदा सुत्केरी हुन आउने महिलाका लागि लडिया र बुकी भरपर्दो सवारी साधन बनेका छन् । मनिकापुरका ग्रामीण बस्तीहरुमा पक्की सडक र नेपालगञ्जभन्दा केही टाढा रहेकाले सुत्केरी ब्यथा लागेपछि गर्भवतीलाई लडिया (गाडा), बुकी (टाँगाजस्तै) को भर पर्नुपर्ने बाध्यता छ । 

त्यसो त एम्बुलेन्स बोलाउँदा ढिला हुने भएकाले उनीहरूको प्राथमिकतामा लडिया र बुकी नै पर्दछन् । अनमी सार्कीले भन्नुभयो, “एम्बुलेन्स बोलाउँदा निकै समय लाग्छ, त्योभन्दा छिटो लडिया र बुकीमै हुन्छ । खर्चका हिसाबले पनि निकै सस्तो पर्छ ।” सुत्केरी गराउन आउँदा रमेशपुर, नटनपुरबाट गाडा तथा माईगाउँबाट बुकीमा गर्भवतीलाई सुत्केरी गराउन ल्याउने गरेको अनमी सार्कीले बताउनुभयो ।
 
“कुनै दिन त स्वास्थ्यचौकीमा बुकी र लडियाको लाइन लाग्छ”, अनमी सार्कीले भन्नुभयो । स्वास्थ्यचौकीका इन्चार्ज सरोजकुमार मिश्रले स्वास्थ्यचौकीमा सुत्केरी गराउनेको चाप बढ्दो क्रममा रहेको बताउनुभयो । “जनशक्ति, साधन र स्रोत पुगेकै छ”, इन्चार्ज मिश्रले भन्नुभयो, “सिस्टरहरुको व्यवहार राम्रो भएकाले जिल्लाका अरु ठाउँ र बाहिरबाट समेत सुत्केरी गराउन आउँछन् ।” 

इन्चार्ज मिश्रले प्रोत्साहन भत्ताले पनि स्वास्थ्य संस्थामा आउनेको सङ्ख्या बढाएको बताउनुभयो । “चौथोपटक गर्भ जाँच गर्न आउनेलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनु भन्ने लेखेरै दिने गरेकाले पनि सुत्केरी हुन आउनेको सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो । नयाँ कानून आएपछि अलिकति जटिल देखिनेबित्तिकै सिफारिस गर्ने गरिएको छ । यहाँका सबै महिलाले नियमित गर्भ जाँच गर्ने गरेका छन् ।
 
स्वास्थ्यचौकीमै पुग्न नसक्ने गर्भवती महिलाले गाउँटोलमै गाउँघर क्लिनिकमार्फत जाँच गरिरहेका छन् । मनिकापुर स्वास्थ्यचौकीअन्तर्गत १५ स्वास्थ्य स्वयंसेविकामार्फत गाउँघरमा सचेतनाका कार्यक्रमसमेत सञ्चालन हुँदा गर्भवती महिला नियमित जाँचका लागि आउने गरेको इन्चार्ज मिश्र बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बर्थिङ सेन्टरमा स्थानीयवासीले अपनत्व महसुस गरेकै कारण प्रसूति सेवा प्रभावकारी देखिएको छ ।” 

यहाँ ४० जनासम्म अन्य उपचारका लागि आउने गर्छन् भने हप्तामा कम्तीमा पनि चार महिला सुत्केरी हुनकै लागि पुग्ने गरेको इन्चार्ज मिश्रले बताउनुभयो । “सेवा प्रवाहमा वृद्धि भइरहेको छ, यसलाई अत्याधुनिक ढङ्गबाट सञ्चालन गरी अझै सुविधासम्पन्न बनाउनुपर्ने आवश्यकता देखिएको छ”, उहाँले भन्नुभयो । गर्भवती उत्प्रेरणाबापत चारपटक गर्भवती जाँच गराए रु ८०० र बर्थिङ सेन्टरमै सुत्केरी हुनेलाई रु एक हजार पोषणभत्ता दिइँदै आएको छ ।

सरकारले प्रोत्साहन भत्ता दिन थालेपछि गर्भवती महिला नियमित जाँज र सुत्केरी हुन बर्थिङ सेन्टरमै पुग्ने गरेको अनमी सार्कीले बताउनुभयो । “नेपालगञ्ज उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा मनिकापुरमा स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउनुपर्छ भन्ने चेतनास्तर बढेको छ”, सार्कीले भन्नुभयो । टोलमा को गर्भवती छ र कसले जाँच गराएको छैन भन्ने महिला स्वयंसेविकाले निगरानी गरिरहेका हुन्छन् ।

“गर्भवती जाँच गर्ने बेलामै बर्थिङ सेन्टरमै सुत्केरी हुन आउनू भनेर लेख्छौँ”, अनमी सार्की भन्नुहुन्छ, “गर्भवती जाँच गराऊ, घरमा सुत्केरी नहोऊ भन्ने सन्देश निकै फलदायी भएको छ ।” मनिकापुरमा रहेको बर्थिङ सेन्टरमा सो क्षेत्रका मात्र नभई बर्दियाको बेलवाबाट पनि सुत्केरी हुन आएको रेकर्ड छ । नेपालगञ्जकै सीमासँग जोडिएको जयसपुरबाट पनि सुत्केरी हुन मनिकापुरकै बर्थिङ सेन्टरमा गर्भवती महिला पुग्ने गरेको बताउनुहुन्छ, अनमी सार्की । 

जयसपुरबाट मनिकापुर पुग्दा बीच बाटोमा ठूला र सुविधासम्पन्न अस्पताल छन् । “बर्थिङ सेन्टरप्रति गर्भवती महिलाको बढी विश्वास छ । हुन त हामीले पनि जोखिममा रहेका गर्भवती महिलालाई भेरी अञ्चल अस्पतालमै पठाउने हो, तर उहाँहरुको विश्वास हामीले जितेका छौँ”, अनमी सार्कीले भन्नुभयो । स्वास्थ्यचौकीमा हरेक वर्ष सुत्केरी हुने दर बढ्दो क्रममा रहेको उहाँको भनाइ छ । बर्थिङ सेन्टरमा गत आर्थिक वर्ष २०७४/७५ मा १२६ सुत्केरी भएकामा आव २०७५/७६ मा १७६ सुत्केरी भएका छन् । प्रत्येक आवमा स्वास्थ्यचौकीमा रहेको बर्थिङ सेन्टरमा सुत्केरी हुने दर बढ्दो क्रममा रहेको छ । जसका कारण गाउँमा सुत्केरी हुने दर करीब शून्यजस्तै भएको छ । आव २०७६/७७ को तीन महीनामा ५८ सुत्केरी भएका छन् । यस तथ्याङ्कले आगामी आवमा सुत्केरीको सङ्ख्या अझै बढ्ने अनुमान छ ।