• गृहपृष्ठ
  • देशको रेटिङ गर्न र दोहोरो करबाट उन्मुक्ति दिन एनआरएनको आग्रह, एनआरएनलाई पूर्वाधारमा लगानी गर्न सरकारको आग्रह

देशको रेटिङ गर्न र दोहोरो करबाट उन्मुक्ति दिन एनआरएनको आग्रह, एनआरएनलाई पूर्वाधारमा लगानी गर्न सरकारको आग्रह

Oct 16th, 2019

काठमाडौं, २९ असोज  
गैर आवासिय नेपालीहरुले आफुहरु नेपालमा लगानी ल्याउन तयार रहेको तर देशको रेटिङ नहुँदा समस्या भएको बताएका छन् । साथै दोहोरो करबाट उन्मुक्ति दिन नसकेकाले पनि  लगानी आउन नसकेको उनीहरुको तर्क छ । 

गैर आवासीय नेपाली संघको पूर्व अध्यक्ष जिवा लामीछानेले गैर आवासीय नेपालीलाई दोहोरो करबाट उन्मुक्ती दिनुपर्ने बताए । जसको लागि सरकारले विभिन्न देशहरुसँग सम्झौता गर्नुपर्छ । अहिले यस्तो सम्झौता १० वटा देशहरुसँग मात्रै छ । नेपालमा आएको लगानीले यहाँ र फेरी लगानी ल्याएको मुलुकलाई पनि प्रतिफलको कर  तिर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको तर्क छ ।  अर्थमन्त्री युवराज खतिवडाले  भने गैर आवासीय नेपालीहरुलाई फलाम खानी, पेट्रोलियम अन्वेषण र पर्यटनमा लगानी गर्न आग्रह गर्नुका साथै उनले पूर्वाधार, शिक्षा, स्वास्थ्य पनि लगानीका लागि आब्हान गरेका छन् । 

यसरी लगानीका लागि रेटिङ बाधक भएको बताएपछि अर्थमन्त्री खतीवडाले भने ‘ देशको रेटिङ गराउनका लािग एजेन्सी चयन भइसकेको  छ र अब यसको नतिजा दुई देखि तीन महिनाभित्रै आउछ ।’ रेटिङको काम सकिएपछि प्रत्यक्ष बैदेशिक लगानी भित्राउन सहज हुने खतिवडा समेत ढुक्क छन् ।

सरकारले लगानी गर्न आग्रह गर्दै गरेका बेलामा प्रतिपक्ष दलका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले देशमा भौतिक पूर्वाधार तथा यातायातको असुविधका कारणले गर्दा वैदेशिक लगानी आउन नसकेको बताए ।

उनले भने ‘नेपालमा वर्षेनि १२ देखि १५ अर्बको हाराहारीमा बैदेशिक लगानी आएको छ, र हामी दक्षिण एसियामै सबैभन्दा कम बैदेशिक लगानी भित्राउने राष्ट्रको रुपमा चिनीएका छौं ।’ वैदेशिक लगानी भित्राउनका लागि सरकारी संयन्त्रहरु समेत बलियो बनाउनुपर्ने उनको तर्क छ । सामुहिक लगानी कोष भित्राउनका लागि सरकारले बाटो खोलिदिइसकेको तर यो भने गैर आवासिय नेपाली संघबाटै यसमा ढिलाई भइरहेको छ ।