• गृहपृष्ठ
  • अमेरिकाद्वारा इरानी जनतामाथि ‘अपराध’ गरेको राष्ट्रपति रौहानीको आरोप

अमेरिकाद्वारा इरानी जनतामाथि ‘अपराध’ गरेको राष्ट्रपति रौहानीको आरोप

Oct 16th, 2019

तेहरान, २९ असोज (रासस/सिन्ह्वा)

अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएर इरानी नागरिकमाथि ‘अपराध’ गरेको राष्ट्रपति हसन रौहानीले बिहीबार बताउनुभएको छ ।

इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले राष्ट्रपति रौहानीलाई उद्धृत गरी जानकारी गराएको छ, “इरानी जनतालाई खाद्यान्न र औषधीसमेतमा पहुँचमा सङ्कट आउनेगरी नाकावन्दी गर्नु अमेरिकाका लागि ‘लज्जा’ को बिषय बन्नुपर्छ । 

“इरान विरोधी प्रतिबन्ध ‘आर्थिक आतङ्कवाद’ हो,” उहाँले भन्नुभयो । अमेरिकी दबावले इरानी जनता र राष्ट्रलाई घुँडा टेकाउने कल्पना असम्भव रहेको राष्ट्रपति रौहानीले दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, “अन्यायपूर्ण तथा अनौठो प्रतिबन्धको दबावका बावजुद इरानी वैज्ञानिक, अनुसन्धानकर्ता, उद्योगी तथा उत्पादकहरूले पूर्ण आत्मनिर्भरताको बाटोमा अघि बढाउन अत्यधिक मेहनत गरेका र अहिले उक्त उद्देश्य प्राप्तितिर इरान रहेको छ ।”   

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ अमेरिकासहितका विश्व शक्तिराष्ट्रहरूले इरानसँग गरेको आणविक सम्झौता अमेरिकाको पक्षमा नरहेको भनी गत बर्षको जुलाईदेखि सम्झौताबाट फिर्ता भएको घोषणा गरी इरानविरूद्ध पहिलेभन्दा अझ कडा प्रतिबन्धको घोषणा गर्नुभएको थियो । 

सम्झौता तत्कालिन अमेरिकी राष्ट्रपतिको पहलमा भएको थियो भने यसै बिषयलाई ट्रम्पले आफ्नो शसक्त चुनावी एजेण्डा बनाउनुभएको थियो ।

अमेरिकाको निर्णयलाई अन्य हस्ताक्षरकर्ताले भने गलत भन्दै सम्झौताबाट कुनै हालतमा पनि फिर्ता हुननहुने मत प्रकट गर्दै आएका छन् । अमेरिकाले नयाँ सम्झौता गर्न इरानलाई गरेको आग्रहलाई इरानले अस्वीकार गरेपछि तेहरानको अर्थतन्त्र धाराशायी हुनेगरी इरानको प्रमुख आम्दानीको स्रोत तेल तथा अन्य सामानहरूको निर्यात तथा कारोबारमा प्रतिबन्ध लगाएको छ ।