• गृहपृष्ठ
  • मुस्ताङको छुसाङमा मोटर चल्ने पुल निर्माण

मुस्ताङको छुसाङमा मोटर चल्ने पुल निर्माण

Oct 16th, 2019

म्याग्दी, २९ असोज (रासस)

कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएको छ । छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ सिधा यातायात सञ्जालमा जोडिएको छ । यसअघि पुल नहुँदा कालीगण्डकी नदीमा पानीको सतह घट्दा हिउँदयाममा मात्र जोमसोमदेखि लोमान्थाङ हुँदै कोरला नाकामा सिधा सवारी सञ्चालन हुने गरेको थियो । 

पुल निर्माण भएपछि जोमसोमदेखि लोमान्थाङसम्म सहजरूपमा सवारी साधन सञ्चालन हुन थालेको छुसाङका मुखिया विनोद गुरुङले जानकारी दिनुभयो । कालीगण्डकी नदीबाट सवारी साधन तार्नुपर्ने समस्या हटेको छ । ७७।२ मिटर लामो पुल ११ मिटर फराकिलो छ । 

“पुल बनेपछि जोमसोमदेखि लोमान्थाङसम्म सिधा यातायात सेवा सञ्चालन भएको छ”, मुखिया गुरुङले भन्नुभयो, “सडक यातायात सहज भएपछि देशका विभिन्न ठाउँबाट उपल्लो मुस्ताङ भ्रमणमा आउनेहरुको सङ्ख्या बढेको छ ।” पुल बनेपछि जोमसोमदेखि उपल्लो मुस्ताङको दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकाका बासिन्दा, आन्तरिक  तथा बाह्य पर्यटकलाई सहज भएको छ । दैनिक उपभोग्य, खाद्यान्न र निर्माण सामग्री ढुवानी सहज भएको छ । 

डोलिडारले पुल निर्माणका लागि लुम्बिनी बिल्डर्ससँग रु चार करोड ७३ लाख ८८ हजार ६८ मा विसं २०७३ असार ११ मा सम्झौता गरेको थियो । गलत डिजाइनका कारण पुल निर्माणका क्रममा बस्तीतर्फ कटान हुने र खोला एकातिर पुल अर्कोतिर बन्ने अवस्था सिर्जना भएपछि अलपत्र बनेको थियो । 

विसं २०७४ मा सांसद प्रेमप्रसाद तुलाचनको पहलमा डोलिडारका अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि र स्थानीयवासीबीच पुलको डिजाइन परिवर्तन गरेर बस्तीलाई असर नपर्ने र प्रयोग हुने गरी डिजाइन परिवर्तन गराउने सहमति भएपछि पुल निर्माण अघि बढेको थियो । 

छुसाङको बस्ती संरक्षणका साथै पुल निर्माण भएपछि कोरला नाकासम्मको सडक पहुँच सहज भएको सांसद तुलाचनले बताउनुभयो । “छुसाङ र पाण्डाखोलामा मोटरेबल पुल बनिसकेको छ”,  तुलाचनले भन्नुभयो, “जोमसोम–कोरला खण्डको ११० किलोमिटर सडक सात प्याकेजमा स्तरोन्नतिसँगै विभिन्न ठाउँका खोलामा मोेटर चल्ने पुल बनाउने काम भइरहेको छ ।”