• गृहपृष्ठ
  • जोर्डनसँग नेपाल ३-० गोलले पराजित :विश्वकप छनोट

जोर्डनसँग नेपाल ३-० गोलले पराजित :विश्वकप छनोट

Oct 16th, 2019

काठमाडौँ, २९ असोज

विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा  जोर्डनले नेपाललाई  आफ्नो घरेलु मैदानमा ३-० गोलले पराजित गरेको हो। अम्मान अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको  थियो।  तर दोस्रो हाफमा भने  नेपालले ३ गोल खाएकाे  थियाे । 

खेलको ५६ औं मिनेटमा नेपाली डिफेन्डर दिनेश राजबंशीको गल्तीमा पाएको पेनाल्टीमा जोर्डनले अग्रता लिएको थियो ।  फिरास शालबयाले पेनाल्टीबाट गोल गर्दै जोर्डनलाई अग्रता दिलाए । गोलपछि उत्साहित जोर्डनले ७८ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । खेलको ७८औं मिनेटमा अहमद इर्सानले गोल गरेपछि जोर्डन २-० गोलले अघि रहृयो । दुई गोल खाएसँगै निकै दबावमा आएको नेपालले खेलको ८८औं मिनेटमा अर्को गोल खान पुग्यो । खेल सकिन २ मिनेट बाँकी छदा नेपालले तेस्रो गोल खायो। जोर्डनका बहा फैसलले ८८ मिनेटमा गोल गरेर आफ्नो टिमलाई ३-० ले अघि बढाएका थिए। 

समूह ‘बी’ मा नेपाल चौथो स्थानमा छ। नेपालले ४ खेलमा ३ अंक जोडेको छ। यो हारसँगै नेपालले चार खेलबाट तीन खेलमा हार र एक खेलमा जित हात पार्दै तीन अंक बनाएर समूह ‘बी’ को चौथो स्थानमा छ । विजेता जोर्डनको भने तीन खेलबाट दुई खेलमा जित र एक खेलमा बराबरीसहित सात अंक भएको छ ।

यसअघि नेपाल गत बिहीबार अष्ट्रेलियासँग पराजित भएको थियो । अब नेपालले पहिलो अवे खेल आगामी १९ नोभेम्बरमा कुवेतसँग दशरथ रंगशालामा खेल्नेछ।  त्यस्तै, मंगलबार राति नै भएको अर्को खेलमा अष्ट्रेलियाले चाइनिज ताइपेईलाई ७-१ गोलअन्तरले पराजित गरेको छ ।