• गृहपृष्ठ
  • बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा सांसद साह पक्राउ

बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा सांसद साह पक्राउ

Oct 15th, 2019

काठमाडौँ, २८ असोज (रासस)

जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा)का नेता तथा सांसद प्रमोद साहलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओखलढुङ्गा जान लागेका बेला साहलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ लगत्तै शाहलाई आजै जनकपुर पठाइएको छ ।

जहाज उडाउन ढिलाइ गरेको भन्दै साहले सोमबार बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । साह सर्लाही क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुनुहुन्छ । राजपाले भने पक्राउको विरोध गरेको छ ।

यसैबीच सांसद साहको रिहाइको माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्यसमिति सर्लाहीले सदरमुकाम मलङ्गवामा विरोध प्रदर्शन गरेका छन् । राजपा पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शनमा सहभागी नेता, कार्यकर्ताले बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि पुगी नाराबाजीसमेत गरेका थिए । 

ठगी मुद्दामा कारागार चलान

ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका दोलखाको साविक गौरीशङ्कर गाविस घर भई काठमाडौँ महानगरपालिका–६ बस्ने पेम्बा दोर्जे शेर्पा आज कारागार चलान भएका छन् । ठगी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट एक वर्ष कैद र रु ११ लाख जरिवाना सुनाइएका शेर्पा फरार हुँदै आएकामा सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले पक्राउ गरेको थियो ।

आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशले आजै डिल्लीबजार कारागार चलान गरिएको सीआईबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।