• गृहपृष्ठ
  • सि भ्रमणले सम्भावनाको अथाह ढोका खुल्यो : सरकार प्रवक्ता

सि भ्रमणले सम्भावनाको अथाह ढोका खुल्यो : सरकार प्रवक्ता

Oct 15th, 2019

काठमाडौं, २८ असोज 
चिनियाँ राष्ट्रपति सी जिङ्गपिङ्गको नेपाल भ्रमणले सम्भावनाको अथाह ढोका खुलेको, हिजोको सपनाहरु आज योजनामा बदलिन सघाएको धारणा सरकारका प्रवक्ता एवं सूचना एवं सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले राखेका छन् ।

‘अब योजनाहरु कार्यान्वयनका तहमा जानेछन् । जसले अबका केही वर्षहरु भित्र नेपालको सम्पूर्ण अर्थतन्त्र, उत्पादन क्षेत्र, बहुआयमिक सामाजिक आर्थिक रुपान्तरणलाई अघि बढाउनेछ’ चिनियाँ राष्ट्रपति सि जिङपिङको भ्रमणका उपलब्धीबारे पहिलो पल्ट सरकारी धारणा सार्वजनिक गर्दै मन्त्री बास्कोटाले बताए । भ्रमण पश्चात् नेपालले के कति उपलब्धी हाँसिल ग¥यो भन्ने विषयमा सञ्चार केन्द्र नेपालले चिनियाँ राष्ट्रपति सि जिङपिङको भ्रमण, उपलब्धि र कार्यान्वयनका चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गरेकोले यो भ्रमण ऐतिहासिक र फलदायी भएको उनको तर्क थियोे । ‘२३ वर्ष अघि चीन अहिलेको चीन थिएन भने नेपालमा पनि अहिलेको राजनीतिक व्यवस्था थिएन भन्दै उनले भने, “जनमतबाट पाँच वर्षको लागि गठन भएको सरकार रहेको बेला सीको नेपाल भ्रमणले नेपालका लागि बहुआयामिक उपलब्धी हाँसिल गरेको छ ।” कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले सीको भ्रमणले नेपाल भित्र र बाहिर उल्लेखनीय छापहरु छाडेर गएको र यो भ्रमणलाई नेपालको संस्थापनले मात्र होइन, आम नागरिक र सबै राजनीतिक दल, सम्पूर्ण जनता र नेपालको भलो चिताउने सबैले हार्दिक स्वागत र समर्थन गरेको एउटा स्थिति देखा परेको उनले बताए ।  

“हाम्रा विकास निर्माणका योजनाहरुमा, सुख र समृद्धिका अभियानहरुमा हामी साथै रहन्छौं भन्ने दुई देशको राजनीतिक नेतृत्वको बिचमा उच्च हिसाबको विश्वास देखिएको छ”, बास्कोटाले भने । आर्थिक विकासतर्फ लक्षित दीर्घकालीन साझेदारीको कुरा भएको छ, जुन नेपाली जनताको आकांक्षा हो । सुख र समृद्धि हासिल गर्ने त्यसमा चिनिया राष्टपतिले हात बढाउने घोषणा हुनु गौरवको कुरा रहेको उनको धारणा थियो ।

“सम्मानीय प्रधानमन्त्रीले जुन सपना देखे, नेपाल अब भूपरिवेष्ठितबाट भुजडित राष्टको रुपमा लैजाने । त्यसको निम्ति राष्टपतिले हामीलाई हौसला दिए । नेपालको विकास अभियानमा साथ रहेको र त्यसमा चीन सरकारको योगदान रहने प्रतिवद्धता पनि दोहोर्याए,” कार्यक्रममा मन्त्री बास्कोटाल भने । 

चीन र दक्षिण एसियासित अब हिमालयमा मानवीय पुल मात्र नभइ भौतिक पुल समेत स्थापित हुनु सुखद पक्ष रहेको मन्त्री बास्कोटाको बुझाई थियो । “सडक सञ्जाल, रेलवे, हवाई, संचार उर्जा यी सब कुराले हाम्रो समृद्ध राष्टहरुबाट छिमेकीले पाउने लाभको हिस्सा पनि हामीले पाउने अनुभूति भएको छ । यद्यपी त्यसमा हामी नै निर्णायक र महत्वपूर्ण हुन्छौं,” कार्यक्रममा उनले भने । 

कार्यक्रममा आयोजक सञ्चार केन्द्रका अध्यक्ष एवं प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौंलागाईले महामहिम राष्ट्रपतिको भ्रमणका उपलब्धि कार्यान्वयनका चरणमा लैजानुपर्ने आवश्यकता रहेको औंल्याए ।