राजदूतद्वय दाहाल र शेर्पाबाट शपथ

Oct 15th, 2019

काठमाडौँ, २८ असोज (रासस)

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावा फुटी शेर्पाले आज आआफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत विशिष्ट व्यक्ति उपस्थित हुनुहुन्थ्यो । यसअघि नेपालको संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा शेर्पालाई स्पेन र दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको थियो ।