• गृहपृष्ठ
  • कुखुराको सुली प्रशोधन गरी प्राङ्गारिक मल उत्पादन

कुखुराको सुली प्रशोधन गरी प्राङ्गारिक मल उत्पादन

Oct 15th, 2019

चितवन, २८ असोज (रासस)

कुखुराको सुली प्रशोधन गरी प्राङ्गारिक मल उत्पादन थालिएको छ । यहाँको अविनाश ह्याचरी प्रालिले तीन स्थानमा रहेका कुखुरा फार्ममा सुली प्रशोधन उपकरण जडान गरी प्राङ्गारिक मल उत्पादन शुरु गरेको हो । यसअघि तीनै स्थानमा सुलीको दुर्गन्धका कारण स्थानीय आन्दोलित बनेका थिए ।

ह्याचरीले जर्मनी प्रविधि नेपालमा भित्र्याएर कुखुराको सुलीलाई प्रशोधन गरी प्राङ्गारिक मल उत्पादन थालेको हो । यस मललाई केही दिनमानै बजारमा ल्याउने जनाइएको छ । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका पोल्ट्री फार्ममा उपकरण जडान गरिएको हो । भरतपुर महानगरपालिका–१६ को शरणपुर, वडा नम्बर १८ को गाँजीपुर र नवलपुरको बेल्डियामा रहेका कुखुरा फार्ममा ती उपकरण जडान गरिएको विष्टले जानकारी दिनुभयो ।

विष्टका अनुसार पहिलो चरणमा कुखुराको सुलीलाई खोरबाट प्रशोधन केन्द्रमा पु¥याएर सुकाएर गन्ध हटाउने गरिन्छ । सो पश्चात् सुलीलाई प्रशोधन गरी प्राङ्गारिक मल बनाइन्छ । यसरी उत्पादित मललाई प्याकेजिङ गरी कृषकको पु¥याउने लक्ष्य राखिएको छ । यो मल विशेष गरी  केरा, चिया र अलैँची खेतीमा प्रयोग गरिने उहाँले जानकारी दिनुभयो ।

यसरी प्रशोधन गरिएपछि वातावरणमा समेत असर नहुने गरी त्यसको गन्धलाई समेत हटाएर बाहिर ल्याइने उहाँको भनाइ छ । अहिले कुखुरापालक कृषक तथा व्यवसायीलाई सुली व्यवस्थापन निकै कठिन हुने गरेको भन्दै उहाँले यो प्रविधिबाट राहत महसुस हुने बताउनुभयो । ह्याचरीका तीन स्थानमा रहेका फार्ममा दैनिक तीन÷तीन ट्र्याक्टर सुली उत्पादन हुँदै आएको छ । गाँजीपुरमा एक लाख लेयर्स, शरणपुरमा ६० हजार लेयर्स प्यारेन्ट र वेल्डियामा ९० हजार ब्रोइलर प्यारेन्ट रहेका छन् । त्यसबाट दैनिक २० देखि ३० टन प्रशोधित मल उत्पादन हुने विष्टले जानकारी दिनुभयो । यस प्रशोधन उपकरणले दैनिक १५० टनसम्म मल उत्पादन गर्नसक्ने उहाँले बताउनुभयो ।

नेपालमा पहिलोपटक भित्र्याइएको भनिएको ती उपकरण रु १५ करोडमा जडान गरिएको विष्टले जानकारी दिनुभयो । सो प्रविधिको गाँजीपुरमा रहेको उपकरणबाट उत्पादन थालनीको औपचारिक शुभारम्भ सोमबार साँझ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्नुभएको हो ।