कहीँ नभएको जात्रा हाँडीगाउँमा

Oct 15th, 2019

काठमाडौं, २८ असोज
कहीँ नभएको जात्रा हाँडीगाउँमा सोमबार देखि शुरु भएको छ । दशैं लगतै कोजाग्रत पुर्णिमाको भोलिपल्ट देखि शुरु हुने हाँडीगाउँले जात्रामा यस वर्ष खासै हुनुपर्ने जस्तो रौनकता नदेखिएको जात्रा हेर्न पुगेकाहरुले प्रतिकृया दिए । अनामनगर निवासी शम्भु श्रेष्ठले भने, “दशैं लगतै र तिहार अगाडि भएर पनि हो कि क्या हो, जात्रामा सहभागिहरुमा नै पनि खुसीको भाव देखिदैन थियो ।” 

जात्रा हेर्न आएका तामाङ संचार समुहका संस्थापक अध्यक्ष रविन्द्र ग्यावकले भने, “पोहर परार भए दशैं तिहारलाई समेत हुने गरी हाँडीगाउँका टोलैभरी शुभकामनाका तुल ब्यानर, पोष्टर, झल्लरहरु यत्रतत्र सजाएका हुन्थे, बाहिरबाट जात्रा हेर्न पुगेका भक्तजनका लागि किनेर खाने पसल, उपहार लाने सामग्री बेचिएका हुन्थे अचम्म यसवर्ष खासै केहि देखिएन ।” 

हुन पनि स्वागतद्धार त्रिशक्ति मन्दिर गहना पोखरी बाहेक कतै थिएन भने जात्रामा सहभागि हुन आउने भक्तजनको लागि खानका लागि एउटा पनि खाने पसल भेटाउन सकेको थिएन, लाग्थ्यो यो वर्षको जात्रा मात्र कर्मकाण्डी हो । जे होस परम्परा देखि मनाउँदै आईरहेको चोकडे नारायणको माम्साहारी जात्रा शुरु भएको छ ।

कहीँ नभएको हाँडीगाउँले जात्राको कथन
शङ्खमूलदेखि बूढानीलकण्ठसम्म लिच्छवि राज्य विशालनगर फैलिएको बेला दुई जीउकी दिदी–बहिनी एकान्तमा नित्यकर्म गर्दै थिए । दिदीले भनिछन्, बच्चा जन्माउन कठिन हुन्छ होला हगि रु मेरो त भगवान् छन् उनैको शरणमा छुँ बहिनी म त । बहिनीले भनिछन्, ‘भगवानले पनि पाइदिने हो र बच्चा ? म त आफैं जन्माउँछु ।

महिना पुगेपछि दिदी चाहिँले सहजपूर्वक शिशु जन्माइछन् भने देवताप्रति अविश्वासी बहिनीले १२ महिनामा पनि जन्माउन सकिन छिन् । ज्योतिषीलाई देखाउँदा भगवानप्रति अविश्वासका कारण बहिनीले बच्चा जन्माउन नसकेकी हुन र क्षमा माग्नुपर्ने बताए छन् । त्यहिबेला बहिनी चाँहिले देवतालाई खुसी पार्न संसारमै नभएको उल्टो खटको जात्रा गर्ने र मैनफूल चढाउने भाकल गरिछन् ।

भनिन्छ, त्यसैबेला देखि दशैं कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि तीन दिनसम्म उल्टो खटको जात्रा गर्ने र कहीँ नभएको मैनबत्तीको फूल चढाउने गरेको हो । २४ जनाले तीन खट बोक्ने र २ जनाले खट घुमाउने ज्यापू समुदायबाट र मैनबत्तीको फूल चढाउने गुठी मानन्धरले गर्दछन् । पूर्णिमालगत्तै हाँडीगाउँको दथु टोलबाट आमा खट,न्याल्मा टोलबाट बाबु खट र कोटाल टोलबाट छोरी खट बनाएर जात्रा गर्दछन् ।

जात्रामा नायखिं, धिमेय,बाँसुरी बाजाको तालमा हाँडीगाउँ पूरै घुमाइन्छ । चोकदे कहीँ नभएको जात्रा कोटाल टोलस्थित पुजारी हरिनारायण श्रेष्ठको घरबाट शुरू हुन्छ । त्यस बेला भक्तजन व्रत बस्ने र देवी–देवताको पूजा गर्नेको छुट्टै चहलपहल देखिन्छ ।

उल्टो खट जस्तै देवता र पुजा पद्दति पनि कहि नभएको 
संसारमा नै श्रृष्टिकर्ता ब्रम्हाको पुजा गर्ने मुर्ति बनाउने चलन छैन तर हाँडीगाउँ मात्र यस्तो ठाउँ हो जहाँ ब्रम्हाँको खट मात्र बनाईदैन् कि खट जात्रा र पुजा जात्रापनि भव्य हुने गर्दछ । अर्को अनौठो संस्कार के पनि हो भने ब्रम्हा, विष्णु, महेश्वर भनेका सात्विक पुजा सामग्री चढाउने देवताहरु रहेको मानिन्छ ।

तर हाँडीगाउँले जात्रामा तीनवटै देवी देवतालाई राँगा, हाँस, भाले बोका लगायतका तामसिक बलि पुजाका साथ साथ जाँड रक्सिी आदि समेत चढाउने र प्रसादको रुपमा खाने खुवाउने गरिन्छ । पिता खटलाई ब्रह्मा (सृष्टि), छोरा विष्णु (पालक) र आमा खटलाई महेश्वर (संहारकर्ता) मान्ने परम्परा छ् । हिमालको प्रतीक सेतो कपडा,जङ्गल सयपत्रीका फूलका बोट र तीन तहमा मैनको फूलले सिँगारी उल्टो खटको जात्रा गरिन्छ ।