• गृहपृष्ठ
  • प्रधानमन्त्री र परिसंघका पदाधिकारी बीच भेट, आर्थिक क्षेत्रका समस्या समाधानमा पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री र परिसंघका पदाधिकारी बीच भेट, आर्थिक क्षेत्रका समस्या समाधानमा पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

Oct 14th, 2019

काठमाडौ, २७ असोज
नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आर्थिक तथा औद्योगिक क्षेत्रका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ । आइतबार साँझ परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वको प्रमण्डलले प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको हो । 

सो भेटमा प्रधानमन्त्रीले आर्थिक तथा औद्योगिक व्यवसायीक क्षेत्रका समस्याबारे आफु गम्भिर रहेको भन्दै समाधान गर्दै जाने विश्वास दिलाए । चीनका राष्ट्रपति सि चीनफिगको भ्रमणको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले आर्थिक तथा पूर्वाधार विकासमा नयाँ अवसरहरु प्राप्त भएकाले त्यसको उपयोग गर्न निजी क्षेत्र तत्पर हुनुपर्ने बताए । 

परिसंघका अध्यक्ष मोरले चीनका राष्ट्रपतिको भ्रमण अत्यन्तै सफल भएकोमा प्रधानमन्त्रीलाई बधाई दिएका थिए । भ्रमणका क्रममा भएको सम्झौता तथा समझदारीले हिमाल सीमापार/बहुआयामिक सम्पर्क विस्तारमा थप महत्व दिएको, साथै यसबाट निजी क्षेत्र उत्साहीत भएकोले त्यसको कार्यान्वयनका लागि तिब्र सकृयताको खाचो रहेको पनि मोरले उल्लेख गरे । अध्यक्ष मोरले प्रधानमन्त्रीसँग भन्नु भने, “खासगरि कनेन्टिभिटीका ठूला पूर्वाधार तथा व्यापार विस्तारका लागि बनाउने भनिएका संयन्त्रको स्थापनामा हुदाँ आर्थिक विकासलाई ठूलो मद्दत पुग्ने भएकाले राष्ट्रपति सिको भ्रमणबाट निजी क्षेत्र उत्साहित भएको छ ।”

यसै गरी तिब्र आर्थिक विकासका लागि प्रधानमन्त्रीले लिएको पहलको प्रसंसा गर्दै परिसंघले त्यो लक्ष्य हाँसिल गर्न निजी क्षेत्रले पूर्ण सहयोग गरिरहेको अवस्थामा देखिएका समस्या समाधानमा पनि प्रधानमन्त्रीको अग्रसरता अपेक्षा गरिएको बताएको हो । एकै पटक आएका धेरै प्रकारका नयाँ-नयाँ कानुन र नियमनकारी व्यवस्थाले उद्योगी व्यवसायीहरु दवावमा पर्दा नयाँ लगानीका लागि वातावरणमा संकुचन देखिएको विषयमा अध्यक्ष मोरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । यसैगरि सामान्य त्रुटिमा समेत उद्योगी व्यवसायीलाई पक्राउ गर्ने जस्ता घटनाले व्यवासायिक क्षेत्र हतोत्साहित हुन सक्ने अवस्था आएको पनि अध्यक्ष मोरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । 

कार्यान्वयन तहमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र राष्ट्र बैँक लगायत सम्बन्धित निकायको सहभागितामा प्रधानमन्त्री कै मातहतमा उच्चस्तरिय समिति गठन गर्न पनि अध्यक्ष मोरले आग्रह गरे ।  

सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले सरकारका विभिन्न निकायमा छिटो-छिटो सरुवा तथा विभागिय फेरवदल हुदाँ त्यसको प्रतिकूल असर उद्योग व्यवसायमा परेको बताए । संस्थागत निरन्तरता नहुने, कानून तथा नियमको व्याख्यामा फरक-फरक धारणाले निर्णय प्रक्रिया ढिलो हुने र जिम्मेवारी नलिने प्रवृति हावी हुदै गएको तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । यसैगरि वित्तिय क्षेत्रमा तरलता अभाव कम गर्न तथा पूँजीबजारमा लगानीकर्ताको मनोबल बढाउन प्रधानमन्त्रीले थप पहल लिनुपर्ने अवस्था आएको तर्फ पनि परिसंघ प्रमण्डलले ध्यानाकर्षण गराए । 

प्रधानमन्त्रीसँगको भेटमा परिसंघको तर्फबाट अध्यक्ष मोर सहित निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, विरेन्द्रराज पाण्डे र राष्ट्रिय परिषद सदस्य अनलराज भट्टराई सहभागी रहेका थिए ।