• गृहपृष्ठ
  • प्राचीन ऐतिहासिक झयाली पोखरी पुनःनिर्माण

प्राचीन ऐतिहासिक झयाली पोखरी पुनःनिर्माण

Oct 14th, 2019

पोखरा, २७ असोज )रासस)

कास्कीको मादी गाउँपालिका–३ याङजाकोटमा गाउँको बीचमा रहेको प्राचीन ऐतिहासिक झयाली पोखरीको पुनःनिर्माण गरिएको छ ।

मादी गाउँपालिकाद्वारा करीब रु १५ लाख ४८ हजार ७०० को लागतमा पोखरीको पुनःनिर्माण गरी बीच भागमा भगवान बुद्धको मूर्ति स्थापना एवं चारैतिर तारबारले घेरिएको छ । पुनःनिर्माण एवं संरक्षण योजनामा स्थानीयको साथ सहयोगका कारण योजना तोकिएकै समयमा चित्त बुझ्दो रुपमा सम्पन्न भएको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले जानकारी दिनुभयो ।

कतिपय अवस्थामा योजना र पैसा मात्रै भएर काम सम्पन्न नहुने बताउँदै उहाँले  यसलाई सम्पन्न गर्न नेतृत्व गर्ने व्यक्तिको पनि त्यतिकै ठूलो भूमिका रहने उल्लेख गर्नुभयो ।     आगामी दिनमा याङजाकोटमा लाग्ने बुद्धजयन्ती मेलामा पोखरीको बुद्ध मूर्तिमा पूजा गरेर मेला शुरु गर्न सकिने उहाँको भनाइ छ ।

पोखरीमा रङरोगन गरी अझै सुन्दर बनाउने काम बाँकी रहेको बताउँदै उहाँले आगामी दिनमा पोखरीको वरिपरि बाटो ढलान गर्ने, फूल रोप्ने, बत्ती जडान गर्नेलगायतका काम गरिने जानकारी दिनुभयो । झयाली पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्य गुरुङले ऐतिहासिक पोखरी पुनःनिर्माणसँगै यसले यहाँको सुन्दरता थपेको र पर्यावरणीय संरक्षणमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।