• गृहपृष्ठ
  • गिरिजाप्रसाद कोइराला नेपालको लोकतान्त्रिक नेता : पूर्वराष्ट्रपति यादव

गिरिजाप्रसाद कोइराला नेपालको लोकतान्त्रिक नेता : पूर्वराष्ट्रपति यादव

Oct 13th, 2019

काठमाडौँ, २६ असोज (रासस)

पूर्वराष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइराला नेपालको लोकतान्त्रिक नेता भएको बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिहरूको परिचयात्मक कार्यक्रम’मा उहाँले गिरिजाप्रसाद कोइरालाजस्तो दृढ अठोट भएको नेताका कारण मुलुकमा लोकतन्त्र आएको बताउनुभयो ।

“जङ्गलमा विद्रोह गरेर बसेको माओवादीलाई शान्तिप्रक्रियामा ल्याएर लोकतान्त्रिक मुलुक निर्माणमा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको छ,” उहाँले भन्नुभयो । पूर्वराष्ट्रपति डा यादवले कोइरालाले चारवटा राजाको सङ्गत गरेको र अन्तर्राष्ट्रिय समुदायले लोकतान्त्रिक नेता भनेर चिनेका कारणले नै सरकारले आतङ्ककारी घोषणा गरेको तत्कालीन नेकपा माओवादीसँग १२ बुँदे सम्झौता गर्दा पनि उहाँलाई कसैले थुन्ने आँट नगरेको उल्लेख गर्नुभयो । गिरिजाप्रसाद कोइरालालाई शान्ति, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताबाट कसैले चाहेर पनि अलग गर्न नसक्ने उहाँको भनाइ थियो ।

पूर्वराष्ट्रपति डा यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफल र बलियो बनाउन सबै राजनीतिक दलका नेतालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । दलका नेताले शान्ति, लोकतन्त्र र राष्ट्रहितलाई सर्वोपरि राख्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपालको तीव्र विकासका लागि कृषिको आधुनिकीकरण पहिलो प्राथमिकता भएको बताउनुभयो । “जलविद्युत्, पर्यटनसँगै आधुनिक कृषिको विकासमा सरकार लाग्नुपर्छ,” उहाँले भन्नुभयो ।

महामन्त्री कोइरालाले फाउण्डेशनले देश विकासको क्षेत्रमा खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्नुभयो । काङ्ग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले विपी कोइराला नेपालको प्रधानमन्त्री हुँदा एक चीन नीति अँगाल्नु भएको र त्यसले अहिले पनि निरन्तरता पाइरहेको बताउनुभयो ।

विपी कोइरालाको बेलाको संयुक्त राष्ट्रसङ्घको बैठकमा नै विपीले चीनलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा राख्नुपर्ने आवाज उठाउनु भएको स्मरण डा महतले गर्नुभयो । गिरिजाबाबु प्रधानमन्त्री हुँदा देशको विकासको जग खडा भएको उहाँको भनाइ थियो  ।

काङ्ग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसमा विचारलाई बन्देज लगाउने गरी विनियमावली बनाउन लागेको भन्दै विचारको स्वतन्त्रतामा बन्देज लगाएमा पार्टी समाप्त हुने बताउनुभयो । काङ्ग्रेस केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले गिरिजाबाबुको कारणले नै मुलुकमा लामो समयदेखि अस्थिर रहेको राजनीति समाप्त भएको उल्लेख गर्नुभयो  ।

ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि टान फाउण्डेशनसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो  ।

काङ्ग्रेस नेत्री एवम् फाउन्डेशनका अध्यक्ष सुजाता कोइरालाले गिरिजाप्रसाद कोइरालाले अगाडि बढाउनु भएको सहमति, सहकार्य र एकताको मार्गबाटै शान्ति, लोकतन्त्र, गणतन्त्र संस्थागत भई देशमा समृद्धि आउने बताउनुभयो ।

गिरिजाप्रसाद कोइरालाले अगाडि सार्नुभएको शान्ति, लोकतन्त्र र विकासको नारालाई अगाडि बढाउन र उहाँका विचारलाई देश तथा विदेशसम्म पु¥याउन स्थापना भएको फाउण्डेशनले नेपालको सात प्रदेश, ७७ जिल्ला र विदेशका झण्डै एक दर्जन मुलुकमा शाखा विस्तार गरिसकेको छ ।

सोही अवसरमा फाउण्डेशनलाई क्रियाशील बनाउन सहयोग गर्ने फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरे र एशिया प्यासिफिक क्षेत्रका अध्यक्ष सुदर्शन थापामगरलाई विशेष सम्मान तथा फाउण्डेशनलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।