सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

Oct 13th, 2019

काठमाडौं, असोज २६
कैलाली, सुर्खेत, सप्तरी र पर्साका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । 

कैलालीको लम्की चुहा नगरपालिका ३ गोराङगेस्थित सडकमा से.७ प १४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार टिकापुर नगरपालिका १ बस्ने २१ वर्षीय मदन शाहीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक टिकापुर नगरपालिका १ बस्ने १८ वर्षीय अभिषेक सोडारीको टिकापुर अस्पतालमा उपचार भइरहेकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको  छ । 

सुर्खेतको भेरीगंगा नगरपालिका ५ हर्रे्स्थित सडकमा बा.३ ख ५२१६ नम्बरको फोर्स गाडीबाट खसेर भेरीगंगा नगरपालिका-४ बस्ने ४० वर्षीय यम बहादुर खत्रीको शनिबार घट्नास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सप्तरीको रुपनी गाउँपालिका १ रुपनी बजारस्थित सडकमा ना.५ ख ६९६ नम्बरको बसले को.२६ प ८६१६ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक अग्निसायर कृष्णसवरण गाउँपालिका-८ बस्ने ४५ वर्षीय घुरण मिजारको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पर्साको वीरगंज महानगरपालिका १४ स्थित सडकमा ना.६१ प ४४५१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने दार्चुला वेथान नगरपालिका-७ घर भएकी ३५ वर्षीया बिषन खत्रीको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको वीरगंज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र वीरगंज महानगरपालिका १४ बस्ने २९ वर्षीय भरत भण्डारीलाई उपचारको लागि नारायणी अस्पताल वीरगंज पठाइएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ  ।