• गृहपृष्ठ
  • काँग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ

काँग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ

Oct 13th, 2019

रौतहट, २६ असोज (रासस)

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद आलमलाई रौतहट प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

सांसद आलमलाई गौर नजिक इद्रिस गेटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नवीन कार्कीले बताउनुभयो । विसं २०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनीमाथि किटानी जाहेरी परेको थियो । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ । आज अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । पछि मृतकका आफन्तले हालेको रिट निवेदनमा सुनुवाइ गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले  २०६९ जेठ १६ मा दोषी आरोपित आलमसहित पाँच जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।