• गृहपृष्ठ
  • महोत्तरीबाट तीन लाख भारुसहित युवक पक्राउ

महोत्तरीबाट तीन लाख भारुसहित युवक पक्राउ

Oct 13th, 2019

जलेश्वर, २६ असोज (रासस)

महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले बताउनुभयो ।

शनिबार बेलुका अन्दाजी ६ बजेतिर ज७प ३३९५ नंको मोटरसाइकलमा चढी रु तीन लाख भारु बोकेर मटिहानीबाट जलेश्वर जाँदै गरेको अवस्थामा मटिहानी नपा–९ स्थित जलसागर पोखरी नजिकै खटिएका सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा स्रोत नखुलेको भारुसहित उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

भारुसहित पक्राउ परेका युवक साह अवैधरूपमा नेपाली–भारुको सटही कारोवार गर्ने गरेको प्रहरीले आशङ्का गरेको छ भने उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

दश जुवाडे पक्राउ

कावासोती– नवलपरासी प्रहरीले जुवाताल खेल्दै गरेका १० जुवाडेलाई पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको गैँडाकोट नगरपालिकाबाट जुवातास खेल्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो ।

गैँडाकोट–१० भैँसाखोरीस्थित राजकुमार सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोलीले शनिबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गैँडाकोटका ४० वर्षीय  इन्द्र राना, २५ वर्षीय  सुजन बराल, २५ वर्षीय देव गुरुङ, ३१ वर्षीय मनोज गुरुङ, ३९ वर्षीय  थिरबहादुर महतो, ४४ वर्षीय सञ्जय अधिकारी, ३४ वर्षीय  भीम रावल, ३१ वर्षीय सुनबहादुर सुनारी, २५ वर्षीय  अनिल सुनार  र ३३ वर्षीय राजकुमार सुनार रहेको प्रहरी नायब उपरीक्षक रानाभाटले बताउनुभयो । 

जुवाको खालबाट प्रहरीले रु ७१ हजार ५०२ बरामद गरेको छ । पक्राउ परेकाहरु विरुद्ध जुवातासअन्तर्गतको मुद्दा दायर गरी कारवाही गरिने प्रहरीले जनाएको छ ।