• गृहपृष्ठ
  • हात र छातीमा जमरा राखेर शान्तिका लागि निराहार व्रत

हात र छातीमा जमरा राखेर शान्तिका लागि निराहार व्रत

Oct 12th, 2019

चितवन, १७ असोज (रासस)

भरतपुर महानगरपालिका–१० मा रहेको चितवन कालिका मन्दिरमा एउटा अनौठो दृश्य देख्न सकिन्छ । जहाँ अहिले दुर्गा पूजा भइरहेको छ । सोही मन्दिरको छेउको भजनकीर्तन गर्ने कोठामा एक महिला दुवै हातमा र छातीमा जमारा राखेर भुइँमा सुतिरहनुभएको छ । 

मन्दिरको छेउमा एउटा कुनामा रातो कपडाले वारिएको छ । सो कपडाले वारेको स्थानमा झूल लगाइएको छ । झूलभित्र वडा नं ९ शरदपुरकी ४० वर्षीया विष्णु ढकाल दशैँको नवरात्रि शुरु भएदेखि नै यसरी बसिरहनुभएको छ । उहाँलाई कुर्न र रेखदेख गर्नका लागि श्रीमान् कृष्ण ढकाल बसिरहनुभएको छ । 

यही असोज १२ गते घटस्थापनाका दिनदेखि उहाँ सो मन्दिरमा आएर निराहार देवीको व्रत बस्नुभएको हो । श्रीमान् कृष्णका अनुसार हिन्दू धर्मको रक्षा र राष्ट्र शान्तिका लागि उहाँ यसरी निराहार व्रत बस्नुभएको हो । यसबाट दैवी शक्ति प्राप्त हुने उहाँको विश्वास छ । पहिलादेखि नै धर्ममा विश्वास गर्नुहुने विष्णुले विगत केही वर्षयता हस्तरेखाबाट भविष्य बताउँदै आउनुभएका उहाँका श्रीमान् कृष्णले जानकारी दिनुभयो । 

सोही कार्यका सिलसिलामा विगत पाँच वर्षदेखि उहाँमा निराहार व्रत बसेर आफ्नो हात र छातीमा उमारेका जमरा नवमीका दिन देवी मन्दिरमा चढाउने इच्छा थियो । सोही इच्छाअनुसार यस वर्ष उहाँले निराहार व्रत बस्नुभएको कृष्णले जानकारी दिनुभयो । यसरी उमारिएको जमरालाई नवमीका दिनमा दुर्गा मन्दिरमा चढाउने, दशमीका दिनमा लाख बत्ती बालेर व्रत तोड्ने कार्यक्रम छ ।

आफ्नो घर चलाउनका लागि सामान्य माछापालन गर्ने उक्त परिवारले धर्मप्रति निकै आस्था राख्दै आएको छ । सो व्रत बस्नुभन्दा दुई दिनदेखि विष्णुले केही नखाई बस्नुभएको श्रीमान् कृष्णले बताउनुभयो । लामो समयसम्म निराहार व्रत बस्दा पनि विष्णुको शरीरमा खासै समस्या नदेखिएको उहाँले बताउनुभयो । घटस्थापनाका दिन उहाँको हात र छातीमा जौ र मकैको जमरा राखिएको हो ।