प्रदेश नं ३ मा डेङ्गुको बिरामी बढ्दै

Oct 12th, 2019

मकवानपुर, २ असोज
प्रदेश नं ३ मा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको प्रकोप बढ्दै गएको छ । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयका अनुसार यस प्रदेशमा आजसम्म चार हजार ८०० जनालाई डेङ्गु लागेको जनाइएको छ । डेङ्गुगबाट चितवनमा एक  हजार ८६०, काठमाडौँमा एक हजार ३७०, मकवानपुरमा एक हजार ११०, ललितपुरमा १७, भक्तपुरमा १४५, धादिङमा ३२, काभ्रेमा १२, नुवाकोटमा ६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

त्यस्तै दोलखा, रामेछाप र सिन्धुलीमा एक÷एक जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । डेङ्गुका कारण चितवनमा दुई जना र सिन्धलीमा एक गरी यो प्रदेशमा तीन जनाको मृत्यु भएको मन्त्रालयको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । डेङ्गु प्रकोप बढेसँगै गाउँका स्वास्थ्य संस्थासँगै जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालहरुमा बिरामीको भिड लाग्ने गरेको सम्बन्धित संस्थाले जनाएका छन् । 

मकवानपुर राक्सिराङ गाउँपालिकाले डेङ्गु रोग लागेको प्रमाणित भएमा उपचार खर्च वापत जनही रु तीन हजार दिने घोषणा गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । उक्त गाउँपालिकामा अस्पताल नभएको कारण बाध्य भएर जिल्ला अस्पतालमा बिरामी लानु परेकाले सो रकम उपलब्ध गराउनुपरेको उहाँले बताउनुभयो । यस्तै हेटौँडा उपमहानगरपालिकाले पनि हेटौँडा अस्पताल लगायतलाई डेङ्गु परीक्षण किट उपलब्ध गराएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । रासस