चुक बेचेर आत्मनिर्भर बन्दै महिला

Oct 12th, 2019

रामपुर, १० जेठ    
पाल्पाको रम्भा गाउँपालिका–३ अगाहाखोलाका महिला अमिलो फलबाट तयार पारिने चुक बिक्रीबाट आत्मनिर्भर बनेका छन् । गाउँमा बाँदरले हैरान पारेपछि स्थानीयवासी महिलाले अन्य खेती छोडेर अमिलो खेती गर्दै आएका छन् । गाउँमा हुल बाँधेर आउने बाँदरले किसानले खेतबारीमा लगाएका तरकारी तथा अन्नबाली खाएर हैरान पारेपछि किसान अमिलो फलको खेतीतर्फ आकर्षित भएका हुन् । अन्नबाली खाइदिने बाँदर कुर्न गाउँका युवा विदेशिने र जागिर तथा पढाइको सिलसिलामा बाहिर रहेका कारण पनि अमिलो फलको खेतीमा आकर्षित भएको महिलाकै धारणा छ ।     
अगाहाखोलाका सरिता कार्कीले भन्नुभयो, “अमिलो फललाई बाँदरले खाँदैन त्यसैले पनि यो खेती गर्न र अमिलो फलको दाना तथा चुक बिक्रीका निम्ति समेत सजिलो छ ।” तीन वर्षअघिदेखि अमिलो फल खेती गर्दै आउनुभएका कार्कीको बारीमा अहिले ३०० को हाराहारीमा अमिलो फलका रुख छन् ।     
अमिलो फलका दानालाई प्रतिदाना रु १५ तथा अमिलोबाट तयार पारिने चुकलाई प्रतिकिलो रु ८०० सम्ममा बिक्री गर्दै आएको कार्कीको भनाइ छ । उहाँले ग्यालिनमा चुक भरेर पाल्पाका विभिन्न ठाउँसँगै गुल्मी, स्याङ्जा, कास्की पोखरासम्म पु¥याउनुुहन्छ । महीनामा करीब रु ६० हजार आम्दानी गरेको कार्कीले बताउनुभयो । उहाँले १५ रोपनी जग्गामा अमिलो फल लगाउनुभएको छ । दुई छोराछोरीकी आमा कार्कीका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको बताउँदै आफूले खर्च गर्ने पैसा आफँै कमाएर आत्मनिर्भर भएकामा खुशी लागेको उहाँको भनाइ छ । कार्कीले भन्नुभयो, “काम नभएर दिनभरि खाली बस्नुपर्दैन, घरखर्चका निम्ति आफैँले पैसा कमाउँछु, आफँै आत्मनिर्भर भएकी छु ।”     
 गाउँका युवा सबै विदेशिएकाले प्राय महिलाहरु नै अमिलो फलको खेतीमा सक्रिय देखिएका छन् । धेरैपटक गोडमेल गर्न र खेती स्याहार्न समस्या नभएका कारण पनि महिलाले अमिलो फलको खेतीलाई राम्रो आम्दानी दिने खेतीका रूपमा रोजेका छन् ।  अगाहाखोलाकै सीता रायमाझीले पनि अमिलोको चुकबाट महीनामा रु ५० हजारसम्म आम्दानी गर्नुहुन्छ । प्रायः जाडो मौसममा अमिलो पेलेर चुक तयार पार्ने र गर्मी महीनामा बढी बिक्री हुनाले चर्को घाममा बिक्रीका लागि गाउँगाउँ घुम्ने रायमाझीको भनाइ छ । समुद्री सतहदेखि करीब एक हजार ३०० मिटर उचाइमा रहेको अगाहाखोला क्षेत्रको भिरालो जग्गा प्रायः मकैखेती तथा बोडी, सिमीलगायतका परम्परागतरूपमा खेती गर्दै आए पनि आजभोलि बाँदर कुर्ने मानिसको अभावमा अमिलो फलको खेती गरेको सीताको धारणा छ । चुक बिक्रीबाटै छोराछोरी पढाउन, घरव्यवहार चलाउनसमेत सजिलो भएको महिलाले बताएका छन् ।     
 अगाहाखोलाका करीब २० घरका महिलाले छुट्टाछुट्टै निजी जग्गामा अमिलो फलको खेती गर्दै आएका छन् । रम्भा गाउँपालिकाका अगाहाखोला, पिपलडाँडा, शिखरडाँडा, खोकखोला, गोरुङ्गा, लुङ्करेलगायतका स्थानमा बाँदरले हैरान पारेपछि स्थानीय किसानले अमिलो फलको खेती गर्दै आएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।     
रासस