• गृहपृष्ठ
  • सालमुनि हाइड्रोपावर परियोजनाद्वारा आजदेखि विद्युत् उत्पादन शुरु

सालमुनि हाइड्रोपावर परियोजनाद्वारा आजदेखि विद्युत् उत्पादन शुरु

Oct 12th, 2019

डोटी, ३१ वैशाख
जिल्लाको बडीकेदार गाउँपालिका–१ विपीनगरस्थित कापडी गाडमा निर्माण भएको सालमुनि हाइड्रोपावर परियोजनाले आजदेखि विद्युत् उत्पादन शुरु गरेको छ । करीब रु एक अर्बको लगानीमा निर्माण गरिएको उक्त परियोजनाले पहिलोपटक आफ्नै पावरहाउसमा बत्ती बालेको हो ।

परियोजनाको विद्युत् उत्पादन क्षमता ३.३३ मेगावाट रहेको पावरहाउसका टनेल इञ्चार्ज मीन पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत्को सम्पूर्ण काम सकिएको छ, हामीले लक्ष्यबमोजिम तोकिएकै समयमा विद्युत् उत्पादन गरेर देखायौँ ।” सुदूरपश्चिमको प्रसिद्ध देवता सालमुनिको नामबाट निर्माण गरिएको उक्त परियोजनाको ठेक्का सनमानदेवी हाइड्रोपावर तथा स्वयम्भू कन्ट्रक्सनले लिएका हुन् । सो विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

ती दुवै कम्पनी र नेपाल सरकारबीच भएको सम्झौताअनुसार ३० वर्षसम्म यहाँको विद्युत् बिक्रीबाट आएको रकम निर्माण कम्पनीले नै लिने भएको छ । विपीनगरमा विद्युत् निर्माण भएर विद्युत् उत्पादन भएपछि यहाँका बासिन्दा खुशी भएको स्थानीय रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बत्ती नभएर अन्धकार भएको हाम्रो ठाउँमा अब बिजुली बल्यो, हामी त्यसैमा खुशी छौँ ।” उक्त पावर हाउसबाट उत्पादन हुने विद्युत् वितरणपछि डोटी जिल्ला विद्युत् भार कटौतीमुक्त हुनेमा स्थानीय बासिन्दा आशावादी छन् ।रासस