• गृहपृष्ठ
  • निगमले जापानको ओसाका पुनः नियमित उडान गर्ने

निगमले जापानको ओसाका पुनः नियमित उडान गर्ने

Oct 12th, 2019

काठमाडौ बैशाख २१
नेपाल वायुसेवा निगमले ६१ औं वर्ष प्रवेशका साथै जापानको ओसाका नियमित उडान पुनः प्रारम्भ गर्ने भएको छ । असार १९ गते (जुलाई ४ तारिख) देखि नेपाल वायुसेवा निगमले ओसाकाको नियमित उडान प्रारम्भ गर्ने भएको छ । अहिले निर्धारित उडान तालिका अनुसार हप्ताको तीन (३) वटा उडान मंगलबार, बिहीबार र शनिवार हुनेछ । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समय अनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपरान्ह ६ः०० बजे काठमाडौं आइपुग्ने छ ।
ओसाकाको सबै उडानहरु वाइड्वडी ए३३०–२०० बाट हुनेछ । यस अघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुंदै ओसाकासम्म उडान गर्दै आएको थियो र तत्कालिन समयमा विमानको कमीका कारण जापान उडान स्थगित गरिएको थियो । सन् २००० मा जापानबाट काठमाडौंका लागि सवभन्दा बढी ४१ ह्जार ७० जनाले नेपाल यात्रा गरेका थिए । जसमध्ये नेपाल वायुसेवा निगमको विमानबाट करिव २२ हजार यात्रु आएका थिए ।  ध्वजावाहकको सेवा नभएपछि यात्रुसंख्या घट्दै गएर सन् २०१५ मा १७ हजार ६ सय १३ यात्रुमा सीमित भएको थियो । निगमले ओसाका र नारितामा हप्ताको चार उडान थालेपछि वार्षिक सिट क्षमता ५७ हजार हुने र यसबाट यात्रु संख्या बढ्न गई नेपालको अर्थतन्त्रमा सकारात्मक परिणाम ल्याउनेछ । निगमको गृष्मकालीन तालिका अनुसार काठमाडौं–ओसाका र ओसाका काठमाडौं उडान एक तर्फी करिव ६ घण्टा ३० मिनेटको हुनेछ । दोश्रो चरणमा जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडान गर्ने योजना बनाई तदनुरुप प्रक्रिया अगाडि बढाइएको छ । टोकियोको नारितामा उडान शुरु गरेपछि दुवै गन्तव्यका लागि हप्तामा दुई–दुई वटा उडान गर्ने योजना रहेको छ । विगतमा काठमाडौं ओसाकाबीच सन् १९९४ मा शुरु भएको उडान २००७ सम्म नियमित रुपमा भएकोे थियो । बोइङ्ग ७५७ जहाजबाट गरिएको उक्त उडान चीनको सांघाई भएर गरिन्थ्यो । तर अवको उडान काठमाडौंबाट ओसाकासम्म र ओसाकादेखि काठमाडौंसम्म वाइड्वडी विमानबाट सिधा उडान गरिने निगमले जनाएको छ ।