चितवनमा ९० प्रतिशत रोपाइँ

Oct 11th, 2019

चितवन, २७ साउन
सतह सिँचाइ भरपर्दो नहुँदा जिल्लामा अझै  १० प्रतिशत रोपाइँ हुन सकेको छैन । कृषिज्ञान केन्द्र भरतपुरका अनुसार अघिल्लो वर्ष यतिबेला ९८ प्रतिशत रोपाइँ भएकोमा यसवर्ष ९० प्रतिशत मात्र रोपाइँ भएको हो ।

जिल्लामा २८ हजार ६०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा २५ हजार ८०० हेक्टरमा मात्र धान रोपाइँ भएको कृषिज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिनुभयो । प्रमुख श्रेष्ठका अनुसार जिल्लाका चारवटा स्थानीय तहमा रोपाइँ शतप्रतिशत भएको भए पनि अन्य तीन वटा तहमा पानीको अभावका कारण लक्ष्य अनुसारको रोपाइँ हुन नसकेको हो ।

भरतपुर महानगरपालिकामा सबैभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ । महानगरमा अहिलेसम्म ८० प्रतिशत मात्र रोपाइँ भएको श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै कालिका नगरपालिकामा ९६ प्रतिशत, ईच्छाकामना गाउँपालिकामा ९० प्रतिशत मात्र रोपाइँ भएको छ । रत्ननगर, खैरहनी, राप्ती र माडी नगरपालिकामा भने शतप्रतिशत भएको उहाँले बताउनुभयो । भरतपुर महानगरका अधिकांश क्षेत्रमा सतह सिँचाइ गर्नुपर्ने भएकाले रोपाइँ कम भएको हो । यस क्षेत्रमा खगेरी नहर र नारायणी लिफ्टबाट प्रर्याप्त मात्रामा पानी नजाँदा रोपाइँ कम भएको प्रमुख श्रेष्ठले बताउनुभयो । पश्चिम चितवनको खेतीयोग्य जमीनमा नारायणी लिफ्टले चार हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्दै आएको छ भने अन्य क्षेत्रमा खगेरी सिँचाइको पानी प्रयोग हुने गरेको छ ।

कार्यालयका बाली विकास अधिकृत माधव पौडेलले रोपाइँ कम भएसँगै उत्पादनमासमेत कमी आउने बताउनुभयो । (रासस)