सुन्तला चिस्यान केन्द्र निर्माण

Oct 11th, 2019

गलकोट, ८ भदौ 
उत्पादित सुन्तला सङ्कलन गरी बेमौसममा बिक्री गर्न बागलुङ नगरपालिका-८ सिगानामा सहकारीको अगुवाइमा सुन्तला चिस्यान केन्द्र निर्माण गरिएको छ । सिगानामा क्रियाशील गणेश व्यावसायिक कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा ३१ लाख रुपैयाँको लागतमा सो केन्द्र निर्माण गरिएको हो । 

सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिने सिगानामा सुन्तला भण्डारणको अभावका कारण सस्तो मूल्यमा बिक्री गर्दा किसान मर्कामा पर्दै आएका कारण चिस्यान केन्द्रको निर्माण गरिएको सहकारीले जनाएको छ । एकैपटक पाक्ने सुन्तला ठेकेदारले बोटबाटै टिपेर लैजाँदा किसानले भनेजस्तो मूल्य नपाउने समस्यालाई मध्यनजर गर्दै उक्त चिस्यान केन्द्र निर्माण गरिएको सहकारीका अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । 

“सुन्तला कृषकले भण्डारण गर्न नसक्दा सस्तो मूल्यमा सुन्तला बिक्री हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “सुन्तला चिस्यान केन्द्रमा भण्डारपश्चात् तेब्बर बढी मूल्यमा बिक्री गर्न सकिन्छ ।” गण्डकी प्रदेश सरकारको २१ लाख रुपैयाँ, बागलुङ वडा कार्यालयको चार लाख रुपैयाँ तथा सहकारीको ६ लाख रुपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको सहकारीले जनाएको छ । 

सुन्तलाका लागि उर्भर रहेको सिगानामा चिस्यान केन्द्रको अभावमा सुन्तला कृषक निरुत्साहित भएका कारण सो केन्द्र निर्माणका लागि प्रदेश सरकारले सहयोग गरेको प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले बताउनुभयो । सहकारीमा आबद्ध २०० शेयर सदस्य तथा अन्य सुन्तला किसानले उपभोग गर्ने गरी चिस्यान केन्द्र निर्माण गरिएको वडाध्यक्ष राजन जिसीले बताउनुभयो ।

सिगानामा वार्षिक डेढ करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री हुँदै आएको छ । वडा कार्यालयले नगरपालिकाको सहयोगमा सिगानालाई सुन्तला गाउँ बनाउन वार्षिक १० हजार सुन्तलाका बिरुवा रोपण गरिँदै आएको छ । करीब २०० क्विन्टल सुन्तला राख्ने क्षमता भएको चिस्यान केन्द्र निर्माणसँगै हर्षित भएका सुन्तला किसान रेशम थापाले बताउनुभयो । मौसममा सुन्तलाको राम्रो मूल्य नपाएका बेला चिस्यान केन्द्रमा सुन्तला राखेर बेमौसममा बिक्री गर्दा तेब्बर नाफा कमाउन सकिने किसान बताउँछन् । 

सहकारीले चिस्यान केन्द्र सञ्चालन कार्यविधि बनाएर सञ्चालन गर्ने अध्यक्ष खड्काले बताउनुभयो । चिस्यान केन्द्रमा सुन्तला राखेबापत शेयर सदस्य तथा सुन्तला किसानले विद्युत् तथा हेरालु खर्च व्यहोर्नुपर्ने छ । चिस्यान केन्द्रमा सुन्तला लगातार दुई महीनासम्म राख्न मिल्नेछ । निर्माण गरिएको सुन्तला चिस्यान केन्द्रको प्रदेशसभा सदस्य सापकोटाले उद्घाटन गर्नुभएको थियो । रासस