दमौलीका कृषक पानी नपरेपछि निराश

Oct 11th, 2019

दमौली, ६ भदौ 

वर्षा नभएर धान रोप्न नपाएपछि जिल्लाका कृषक निराश भएका छन् । सिँचाइ सुविधा नभएर आकाशे पानीको भर पर्नुपर्ने यहाँका कृषक अहिलेसम्म पनि धान रोप्न नपाएपछि निराश भएका हुन् ।यतिबेला धान गोडेर आराम गर्ने कृषक पानी पर्ला र रोपाइँ गरौँला भन्ने आशामा बसिरहेका छन् । रोपाइँ गर्न नपाउँदा पानी पर्ने आशामा आकाशतिर हेरेर बस्न बाध्य हुनुपरेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१ का राजेन्द्रप्रसाद पन्थीले बताउनुभयो । “पानी नपरेर अहिलेसम्म धान रोप्न पाइएको छैन”, उहाँले गुनासो गर्नुभयो, “प्रकृतिले साथ नदिएपछि अब धानको विकल्प खोज्नुपर्ने बाध्यता भएको छ ।”

पानी नपरेपछि तीन पटकसम्म ब्याडमा राखेको धानको बीउ रोप्न नपाइएको अर्का कृषक उमा पन्थीले बताउनुभयो । उहाँले असारमा पानी नपरे पनि साउनमा पर्ला कि भनेर तीनपटकसम्म बीउ राखेको तर पनि उक्त बीउ अहिले ब्याडमै सुकेर गएको बताउनुभयोे ।“मूल नफुटेपछि आकाशे पानीलाई खेतमा जम्मा गरेर डेढ हल मेलोको खेत रोप्न सफल भइयो,” उहाँले भन्नुभयो, “जसोतसो थोरै धान रोपे पनि पानी नपर्दा पूरै खेतमा धाँजा फाटेर झार उम्रिन थालेको छ ।”

सिँचाइ सुविधा भएका खेतमा असार मसान्तमै रोपाइँ हुने टारी खेतमा भने रोपाइँ हुन नसकेको कृषकको गुनासो छ । पर्याप्त पानी नपर्दा जिल्लामा साउन मसान्तसम्म ७० प्रतिशत मात्रै रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा ९५ प्रतिशत रोपाइँ सकिए पनि यो वर्ष कम मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले यो वर्ष समयमै वर्षा नहुँदा कृषकलाई अप्ठ्यारो परेको बताउनुभयो । “गत वर्ष यही अवधिमा ९५ प्रतिशत रोपाइँ सकिएको थियो तर अहिले जम्मा ७० प्रतिशत मात्रै रोपाइँ भएको छ”, उहाँले भन्नुभयो, “धेरै ठाउँमा मूल नफुटेका कारण ठूलो पानी परेन भने बाँकी खेतमा रोपाइँ हुन समस्या छ ।” तिवारीका अनुसार रोपाइँ नहुने हो भने धान उत्पादनमा कमी आउने र बाहिरबाट निर्यात गर्नुपर्ने अवस्था आउनेछ । 
    
“यस्तो अवस्थामा नजिकैको खोला वा नदीबाट लिफ्ट प्रणालीमार्फत पानीको व्यवस्था गरी रोपाइँको वातावरण सिर्जना गर्नुपर्ने देखिएको छ”, उहाँले भन्नुभयो । जलवायु परिवर्तनका कारण चाहिने बेलामा पानी नपरेपछि सरकारले सुक्खा क्षेत्रमा लगाउने धानको बीउ विकास गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । केन्द्रका अनुसार जिल्लाको १६ हजार हेक्टर जमीनमा वर्षे र तीन हजार ५०० हेक्टरमा चैते धान खेती हुने गरेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, सागेलगायत क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् । जिल्लाका कृषकले सावित्री, मकवानपुरेलगायत उन्नत जातका धानखेती लगाउने गरेका छन् । गत वर्ष वर्षे र चैते गरी ६३ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । रासस