• गृहपृष्ठ
  • अर्थमन्त्री डा. खतिवडाद्वारा विश्व आर्थिक मञ्चको कार्यक्रममा सम्बोधन

अर्थमन्त्री डा. खतिवडाद्वारा विश्व आर्थिक मञ्चको कार्यक्रममा सम्बोधन

Oct 8th, 2019

काठमाडौं, १९ असोज
अर्थमन्त्री डा. युवराज खतिवडाले भारतको नयाँदिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा दक्षिण एशियाली मुलुकको आर्थिक परिदृश्य विषयमा सम्बोधन गरेका छ । सम्बोधनका क्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि देशहरुबीच एक आपसमा गहिरो आवद्धता, यातायात, उर्जा, सञ्चार लगायतमा वढी कनेक्टिभिटी र वित्तीय एकिकरण हुनुपर्नेमा जोड दिए ।

उनले आर्थिक विकासको चरण, मानव स्रोत तथाप्राकृतिक स्रोतले दक्षिण एशियाको आर्थिक वृद्धिदर औसत सात प्रतिशतको हाराहारीमा भइरहन सक्ने उल्लेख गर्दै यस क्षेत्रका वस्तु र सेवाको बाह्य मागले समेत यसमा असर पार्ने बताए । दक्षिण एशियाली मुलुकबाट वैदेशिक रोजगारीमा कामदार जाने गरेका र यसबाट प्राप्त रेमिट्यान्स र पर्यटनमा विश्व अर्थतन्त्रमा आएको सुस्तताले असर गर्न सक्ने बताए ।

अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली व्यापारका क्षेत्रमा दक्षिण एशियाली राष्ट्रहरुविच एक अर्कामा प्रतिस्पर्धा गर्ने क्षेत्र धेरै भएपनि पर्यटन क्षेत्रमा भने प्रतिष्पर्धा होइन परिपूरक भूमिका रहन सक्ने भनाई राखे । यस क्षेत्रमा पर्यटनको विकासबाट रोजगारी सिर्जना र आम्दानीको पुनर्वितरणमा सहयोग हुने बताउंदै उनले दक्षिण एसियाली मुलकहरुको सहकार्यवाट पर्यटन विस्तार भई आर्थिक वृद्धिलाई सहयोग पुग्ने कुरा बताए । गौतम वुद्धको जन्मस्थल लुम्विनी र सगरमाथाको देश नेपालले पर्यटकहरुलाई धेरै कुरा दिन सक्ने बताए । उनले सन् २०२० लाई नेपालले भ्रमण वर्षकोरुपमा मनाउने भएकोले नेपाल भ्रमण गर्नका लागि सहभागीहरुलाई आवहन गरे ।

अर्थमन्त्री डा. खतिवडाले अमेरिकाका वाणिज्य मन्त्री विलवर रोस, भारतका वाणिज्य मन्त्री पियुस गोयल तथा विभिन्न देशका अर्थमन्त्री र वरिष्ठ अर्थशास्त्री सम्मिलित अनौपचारिक भेटघाटको सेसनमा पनि आफ्ना भनाई राखे । उक्त सेसनमा अन्तर्राष्ट्रिय व्यापारमा देखिएका चुनौती, द्विपक्षीयतथा बहुपक्षीय व्यापारका विविध पक्ष, वैदेशिकलगानी, रोजगारी सिर्जना, विश्व व्यापार संगठनको प्रभावकारिताका लागि चाल्नुपर्ने कदम, विश्व अर्थतन्त्रमा दक्षिण एशियाली मुलुकको भूमिका लगायत समसामयिक विषयमा छलफल भएको थियो ।