निराश हुनुपर्ने ठाउँ छैन : नेम्वाङ

Oct 7th, 2019

काठमाडौं, २ असोज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले संविधान निर्माण भएको चार वर्षमा महत्वपूर्ण आधार खडा गरेको हुँदा निराश हुनुपर्ने ठाउँ नरहेको बताउनुभएको छ ।

चौथो अधिवेशन अर्थात् बजेट अधिवेशनको समापनका अवसरमा उहाँले संविधानकै आधारमा उभिएर समग्र विकास गर्न सक्ने अवस्था रहेको बताउनुभयो । “नेपाली इतिहासमा संविधानका लागि अब राजनीतिक आन्दोलन गर्नुपर्ने आवश्यकता रहेन, समृद्ध नेपाल निर्माणका लागि आधार तयार गरेका छौँ”, उहाँले भन्नुभयो, “जनताका लागि जनताकै प्रतिनिधिले बनाएको नेपालको संविधानले विश्व इतिहासमै शीर ठाडो हुने र छाती फुल्ने काम गरेका छौँ, अलिकति पनि निराश हुनुपर्ने ठाउँ छैन ।” नेता नेम्वाङले संविधान कार्यान्वयनका क्रममा भएका केही कमीकमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो  । 

पूर्वसभामुख नेम्वाङले चौथो अधिवेशनमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरणको कानून निर्माण गरेको र ७० वर्ष लामो जनताको भावनालाई मूर्तरुप दिँदै सत्तापक्ष र प्रतिपक्ष सबै लिएर अहिलेको अवस्थामा ल्याउनु महत्वपूर्ण काम भएको स्पष्ट पार्नुभयो । 

“नेपालको संवैधानिक इतिहासमा यसअघिका संविधानका स्रोत तत्कालीन शासक थिए तर वर्तमान संविधानको स्रोत जनता नै हुन ।” नेता नेम्वाङले भन्नुभयो, “अहिलेको संविधानको प्रस्तावनामा नै हामी सार्वभौमसत्ता नेपाली जनता, संविधानसभाबाट नै संविधान बनाएर घोषणा गर्छौं भनेर लेखिएको छ, नेपालको इतिहासमा पहिलोपटक जनताका लागि जनताले बनाएको संविधान हो ।”
 
नेपालको इतिहासमा महत्वपूर्ण काम सम्पन्न गरेको उल्लेख गर्दै उहाँले संविधान कार्यान्वयन गरेर यहाँसम्म आइपुग्दा प्रतिपक्ष, सत्तापक्ष सबै एकता भएर कार्यान्वयन गर्ने सिलसिलामा अगाडि गरेको स्मरण गर्नुभयो । संविधानअनुसार तीन तहको निर्वाचन सम्पन्न गरी मौलिक अधिकारका कानून तीनवर्षभित्र बनाउनु ठूलो सफल गरेको उल्लेख गर्दै शान्ति प्रक्रियाको बाँकी रहेको सङ्क्रमणकालीन न्यायको काम पनि छिट्टै निष्कर्षमा पु¥याउने उल्लेख गर्नुभयो । 

“सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कानून नयाँ पदाधिकारी ल्याउने तयारी भइरहेको छ”, नेता नेम्वाङले भन्नुभयो, “अन्तर्राष्ट्रिय कानून, सर्वोच्च अदालतको फैसला र सरोकारवाला पक्षसँग छलफल गर्ने अन्तिम गृहकार्य गरेर टुङ्ग्याछौँ, एक वर्षमा नसकिए, दुई वर्षभित्र काम काम सम्पन्न गर्नेछौँ ।”

अर्थतन्त्र कछुवाको गतिमा छ  : पूर्व प्रम भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अर्थतन्त्रको विकासमा नेपाल अवस्था कछुवा गतिमा रहेको हुँदा यसलाई सुधार गरेर लैजानुपर्ने बताउनुभएको छ । बजेट अधिवेशनको समापनका अवसरमा उहाँले बजेटको अवस्थालाई बढाउनुपर्नेमा र त्यसका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले असन्तुष्टि नै विकास गर्ने आधार भएको उल्लेख गर्नुभयो ।
 
पूर्वप्रम डा. भट्टराईले भन्नुभयो, “संविधान जारी भएपछि यो अवधिमा थुप्रै कानून निर्माण भयो, महिला मान्य सदस्य सबैभन्दा बढी सक्रियतापूर्वक सहभागिता भएर काम गरेको अनुभूति मैले गरे ।” उहाँले ठूलो बलिदानीपछि जारी गरेको संविधान जारी गरेको चार वर्ष पुग्दै गरेको अवस्थामा संविधान पनि त्यहीअनुरुप विकास हुँदै जानुपर्नेमा जोड दिनुभयो । 

नेपालको भू–राजनीतिकमा अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै अमेरिका, चीन र भारतजस्ता तीन ठूला राष्ट्रलाई अवसरको रुपमा लिएर तीन ठूला शक्तिको ध्यान नेपालमा केन्द्रित गरेर त्यसलाई अवसरका रुपमा लिनुपर्नेमा जोड दिनुभयो । रासस