• गृहपृष्ठ
  • संविधान अनुपम दस्तावेज : वरिष्ठ नेता नेपाल

संविधान अनुपम दस्तावेज : वरिष्ठ नेता नेपाल

Oct 7th, 2019

काठमाडौँ, २ असोज (रासस)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएकाले यसको कार्यान्वयनमा इमानदार भएर लाग्नुपर्ने बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन) ले आज आयोजना गरेको ‘संविधानमा बालबालिका’ विषयक अन्तरक्रियामा नेता नेपालले संविधानसभाबाट पारित भएको संविधानमा सबै खालका विचार र भावना समावेश भएको र केही विषयमा छलफल जारी राख्न सकिने जनाउनुभयो । 

नेता नेपालले भन्नुभयो, “अनेक कुराहरू आए पनि हामीले हाम्रो संविधान जारी गर्ने कार्यलाई सफल बनाइछाड्यौँ । आफ्नो संविधान आफैँ बनाउन सक्ने उदाहरण प्रस्तुत ग¥यौँ । यो संविधान आफैँमा अनुपम दस्तावेज हो । विश्वका कुनै पनि संविधानभन्दा कमाजोर छैन । यसको कार्यान्वयनमा सबैको भूमिका आवश्यक छ । केहीले सुविधैसुविधा लिएर अरुलाई पाखा पार्ने स्थिति भएमा असन्तुष्टि हुनसक्छ ।”

उहाँले बालबालिको हितलाई केन्द्रमा राखेर नीति, योजना ल्याइनुपर्ने र बालबालिकालाई सामाजिक र व्यवहारिक बनाउन लाग्नुपर्ने जनाउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सबै क्षेत्र, वर्ग र तहलाई सम्बोधन गरेकाले नेपालको संविधान संसारकै उत्कृष्टमध्येको एक हो भन्दै बालबालिकाको मौलिक हकलाई पनि यसले सुनिश्चित गरेको बताउनुभयो । उहाँले संविधानमा व्यवस्था गरिएका बाल अधिकारको कार्यान्वयनका लागि गम्भीर र संवेदनशीलरूपमा लागेको जनाउँदै बालबालिका देशको भविष्य भएकाले बालबालिका ऐन, २०७५ को कार्यान्वयनसँगै तीन तहका सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर बालअधिकार स्थापित गर्नुपर्ने बताउनुभयो ।
 
नेपाली काङ्ग्रेसका नेता गुरुराज घिमिरेले बालबालिकालाई मानव ढाल बनाउने तथा हिंसात्मक गतिविधिमा संलग्न कार्य र महङ्गो शिक्षा हुने स्थिति गलत भएको बताउनुभयो । 

अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले माध्यमिक तहमा विद्यार्थीको कक्षा छाड्ने दर घट्न नसकेको र बालश्रमिकको अवस्था अन्त्य नभएकाले अधिकारको कार्यान्वयनमा चुनौती देखिएको भनाइ राख्नुभयो ।

नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बालअधिकारको रक्षा गर्दै विद्यालयमा बन्द हड्ताल अन्त्य हुनुपर्ने र राज्यले निजी विद्यालयको योगदानलाई बिर्सन नमिल्ने बताउनुभयो ।