• गृहपृष्ठ
  • काङ्ग्रेसमा सैद्धान्तिक विचलन आएको छः अध्यक्ष थापा

काङ्ग्रेसमा सैद्धान्तिक विचलन आएको छः अध्यक्ष थापा

Oct 7th, 2019

भक्तपुर, ११ असोज (रासस)

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली काङ्ग्रेसले तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डको एजेण्डा बोकेर हिँडेको आरोप लगाउनुभएको छ ।  

राप्रपा भक्तपुर जिल्ला समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको एजेण्डा छाडेर काङ्ग्रेसले प्रचण्डको एजेण्डा बोकेर हिँडेको आरोप लगाउनुभएको हो । 

अध्यक्ष थापाले भन्नुभयो, “काङ्ग्रेसले प्रचण्डको भरिया भएर उसको एजेण्डा बोकेर हिँडेकाले देशमा अहिले योजनाबद्ध रुपमा प्राचिन र मौलिक धर्म संस्कृतिमाथि आक्रमण भइरहेको छ ।”

नेपालको धर्म र संस्कृति त्यागेर विदेशी धर्म स्थापना गर्ने दुस्प्रयास भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले ठूला दलका केही वरिष्ठ नेताहरु नै विदेशीको प्रभावमा पर्दा नेपालको धर्म, संस्कृतिमा सङ्कट आएको बताउनुभयो । 

अध्यक्ष थापाले नेपालको धर्म संस्कृतिमा भइरहेको अतिक्रमणलाई रोक्न नसके यहाँको पहिचान र अस्तित्व गुम्ने उल्लेख गर्दै राप्रपाले हिन्दू राष्ट्रका लागि आन्दोलन र अभियान सञ्चालन गरेको तथा यो कुनै पार्टी वा धर्म विरुद्ध नभई हिन्दू धर्ममाथि बढ्दो बाह्य आक्रमण रोक्न चालेको अभियान भएको बताउनुभयो । 

अध्यक्ष थापाले भन्नुभयो, “माओवादीले गलत बिरुवा रोप्यो, धतुरो रोपेर आँप फल्दैन, अहिले नेकपा मात्रै होइन काङ्ग्रेसमा पनि सैद्धान्तिक विचलन आएको छ ।” 

राप्रपा भक्तपुर जिल्ला अध्यक्ष माधव खत्रीले हिन्दू राज्यको अभियानमा सहभागी हुन कार्यक्रममा विभिन्न दलहरु परित्याग गरी राप्रपा प्रवेश गर्नेलाई टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।