• गृहपृष्ठ
  • लोकतन्त्रका लागि लड्नेको सम्मान हुन सकेन : सभापति देउवा

लोकतन्त्रका लागि लड्नेको सम्मान हुन सकेन : सभापति देउवा

Oct 7th, 2019

काठमाडौँ, ९ असोज (रासस)

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र र लोकतन्त्रका लड्ने योद्धाहरुको उचित सम्मान हुन नसकेको बताउनुभएको छ । काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय मार्शल जुलुम शाक्यको ८०औँ जन्मजयन्ती एवं प्रतिमा अनावरण कार्यक्रममा उहाँले प्रजातन्त्र ल्याउन योगदान गरेका योद्धाहरुको उचित सम्मान गर्न नसकिएको बताउनुभएको हो ।

“जनताको अधिकार र प्रजातन्त्र प्राप्तिको लागि मार्सल जुलुम गरेको अतुलनीय योगदानका कारण र देशको परिर्वतनका लागि एक होनाहार योद्धा भएकै कारण  देशमा परिर्वनतको रेखामा हिँडिरहेको छ”, उहाँले भन्नुभयो । सभापति देउवाले पूर्वमन्त्री शाक्यको तत्कालीन राजा स्वर्गीय महेन्द्रले विसं २०१७ मा प्रजातन्त्रमाथि ‘कु’ गरेपछि स्वर्गीय शाक्यले राजाको विरुद्ध आन्दोलनमा देखाएको साहस, निडर र नेतृत्वको प्रशंसासमेत गर्नुभयो । 

काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले शाक्यलाई तत्कालीन पञ्चायती व्यवस्थाले गिरफ्तार गरेको स्मरण गर्नुभयो । नेता जोशीले प्रजातन्त्र स्थापना र पुनःस्थापनाका क्रममा सञ्चालित हरेक आन्दोलन र संघर्षमा संलग्न रहँदा १४ वर्षभन्दा बढी समय शाक्यले जेलजीवन व्यतित गरेको चर्चा गर्नुभयो । काङ्ग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले स्वर्गीय शाक्यजस्ता अथक योद्धाहरुको नेतृत्व वर्गले उचित मुल्याङ्कन गर्न नसकेको गुनासो गर्दे योद्धाको इतिहास भावी पुस्तालाई सधैँ बुझाउन जरुरी रहेको बताउनुभयो । 

काङ्ग्रेस काठमाडौँका पूर्व सभापति एवं सांसद भीमसेनदास प्रधानले शाक्य निवासको सोही घरमा भूमिगत समयमा नेपाली काङ्ग्रेसका शीर्ष नेताहरुसहित राजनीतिज्ञले राजनीतिक रणनीति बनाउने गरेको सम्झना गर्नुभयो ।काङ्ग्रेस नेता तीर्थराम डङ्गोलले परिर्वतनका लागि लड्ने योद्धाहरु ईतिहासका पानमा सधँै अटाइरहने बताउनुभयो । ओम बहालको मिमनमी बहालस्थित स्वर्गीय शाक्यको निवासमा प्रतिमा स्थापना गरिएको हो । शाक्य विसं २०४७ सालको अन्तरिम मन्त्रिपरिषद्मा वाणिज्य तथा आपूर्तिमन्त्री हुनुभएको थियो ।