• गृहपृष्ठ
  • राष्ट्र र जनताका अपेक्षा पूरा गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

राष्ट्र र जनताका अपेक्षा पूरा गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

Oct 7th, 2019

पोखरा, १८ असोज (रासस)

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र र जनताको अपेक्षा पूरा गर्नका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताउनुभएको छ ।

नेकपा कास्कीद्वारा विजयादशममीलगायत विभिन्न चाडपर्वको अवसरमा आज पोखरामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भई संविधानसमेत कार्यान्वयन भइसकेको बताउनुभयो ।

समृद्ध नेपाल सुखी नेपाली सबैको साझा अभियान भएको बताउँदै उहाँले संविधानतः निर्दिष्ट गरिएका अधिकारलाई आपसी समन्वयसमेतका आधारमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

नेकपा स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्जसमेत रहनुभएका उहाँले सङ्घीयताको मर्मअनुसार  अघि बढ्न सके संविधान कार्यान्वयनले पनि सही गति लिनुका साथै राष्ट्र र जनताका आवश्यकतालाई सम्बोधन गरी अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । विजयादशमीलागयतका विभिन्न चाडपर्वले देशमा भ्रष्टाचार निर्मूल भई सुशासनयुक्त समृद्ध राष्ट्र निर्माण गर्न प्रेरणा दिने विश्वास लिइएको उहाँको भनाइ छ । 

नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले कास्की निर्वाचन क्षेत्र नं। २ मा हुने उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो । पार्टी कास्की जिल्ला कमिटीका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले विकासका लागि जनप्रतिनिधि र कार्यकर्ता एकजुट भएर लाग्नुको विकल्प नरहेको बताउनुभयो ।