• गृहपृष्ठ
  • दक्षिण एशियाली मुलुकको विकासका लागि वित्तिय एकीकरण आवश्यक : अर्थमन्त्री

दक्षिण एशियाली मुलुकको विकासका लागि वित्तिय एकीकरण आवश्यक : अर्थमन्त्री

Oct 7th, 2019

काठमाडौँ, १८ असोज (रासस)

अर्थमन्त्री डा युवराज खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि सम्बद्ध देशहरुबीच वित्तीय एकता हुनुपर्ने बताउनुभएको छ ।
 
भारतको नयाँ दिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा ‘दक्षिण एशियाली मुलुकको आर्थिक परिदृश्य’ विषयक सत्रमा सम्बोधन गर्दै उहाँले दक्षिण एशियाली मुलुकको विकासका लागि वित्तीय एकीकरण र आपसमा गहिरो आवद्धतालगायत यातायात, ऊर्जा र सञ्चार क्षेत्रमा सहकार्य जरुरी रहेको बताउनुभयो । 

अर्थमन्त्री डा खतिवडाले आर्थिक विकासको चरण, मानवस्रोत र प्राकृतिक स्रोतले दक्षिण एशियाको आर्थिक वृद्धिदर औसत सात प्रतिशतको हाराहारीमा हुनसक्ने उल्लेख गर्दै यस क्षेत्रका वस्तु र सेवाको बाह्य मागले समेत असर पार्ने बताउनुभयो । दक्षिण एशियाली मुलुकबाट वैदेशिक रोजगारीमा कामदार जाने गरेका र यसबाट प्राप्त रेमिट्यान्स र पर्यटनलाई विश्व अर्थतन्त्रमा आएको सुस्तताले असर गर्न सक्नेमा उहाँले जोड दिनुभयो । 
 
अर्थमन्त्री डा खतिवडाले व्यापारका क्षेत्रमा दक्षिण एशियाली राष्ट्रहरुबीच एकअर्कामा प्रतिष्पर्धा गर्ने क्षेत्र धेरै रहेको र पर्यटनको विकासबाट रोजगारी सिर्जना भई आर्थिक वृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । गौतमबुद्धको जन्मस्थल लुम्बिनी र विश्वकै अग्लो शिखर सगरमाथाले पर्यटकलाई धेरै कुरा दिन सक्ने स्मरण गराउँदै उहाँले नेपालले भ्रमण वर्ष सन् २०२० मनइरहेको हुँदा नेपाल भ्रमण गर्न सहभागी राष्ट्रका अधिकारीहरुलाई आह्वान पनि गर्नुभयो । 

उहाँले नेपालले पूर्वाधार क्षेत्रमा वित्तीय अभाव पूर्ति गर्न सार्वजनिक–निजी साझेदारी, मिश्रित वित्त तथा सम्भाव्यता न्यून परिपूर्ति कोष ९भीजीएफ० लगायतका लगानीका विभिन्न माध्यम अपनाएको जानकारी गराउनुभयो ।
 
भारत र चीन नेपालमा धेरै वैदेशिक लगानी गर्ने देश भएको उल्लेख गर्दै उहाँले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको बताउनुभयो । अर्थमन्त्री डा खतिवडाले नेपालमा सार्वजनिक ऋणको अंश कूल ग्राहस्थ्य उत्पादनको ३० प्रतिशत भएको जानकारी गराउनुभयो ।

सहभागी विभिन्न देशका अधिकारीहरुसँगको भेटमा उहाँले व्यापारमा देखिएका चुनौती, द्विपक्षीय तथा बहुपक्षीय व्यापारका विविध पक्ष, वैदेशिक लगानी, रोजगारी सिर्जना, विश्व व्यापार सङ्गठनको प्रभावकारिताका लागि चाल्नुपर्ने कदम, विश्व अर्थतन्त्रमा दक्षिण एशियाली मुलुकको भूमिकालगायत समसामयिक विषयमा छलफल गर्नुभएको थियो ।

अर्थमन्त्री डा खतिवडा र विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्डबीच द्विपक्षीय भेटघाट भएको छ । भेटका क्रममा उहाँले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, सङ्घीयताको कार्यान्वयनमा भएका कार्य, लगानीको वातावरणमा भएको सुधार, राजश्व क्षेत्रमा भएका सुधारलगायतका विषयमा जानकारी गराउनुभएको थियो । भेटमा अध्यक्ष बर्जले पछिल्ला वर्षमा नेपालको उत्साहजनक आर्थिक वृद्धि भएकोमा खुशी व्यक्त गर्दै चीन र भारतको बीचमा नेपाल अवस्थित भएकाले यी देशबाट नेपालले आर्थिक लाभ लिन सक्नुपर्ने बताउनुभयो । 

उहाँले भारतीय समकक्षी निर्मला सीतारमण बीच भएको शिष्टाचार भेटमा द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ ।