• गृहपृष्ठ
  • काङ्ग्रेस र नेपाल मजदूर किसान पार्टीले विकासको विरोध मात्रै गरे : सांसद बस्नेत

काङ्ग्रेस र नेपाल मजदूर किसान पार्टीले विकासको विरोध मात्रै गरे : सांसद बस्नेत

Oct 7th, 2019

भक्तपुर, १४ असोज (रासस)

सांसद महेश बस्नेतले नेपाली काङ्ग्रेस र नेपाल मजदूर किसान पार्टीले विकासको विरोध मात्रै गरिरहेको आरोप लगाउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चाँगुनारायण–८ वडा कमिटीद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बस्नेतले विकासको विरोध गर्ने दलले चुनाव जिते विकास ठप्प हुने बताउनुभयो । उहाँले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेकपाबाहेक अन्य दलले चुनाव जिते विकासका लागि थप बजेट ल्याउन नसकिने बताउनुभयो । “भक्तपुरमा विकासका लागि व्यापक बजेट आएको छ, अहिले सङ्घ, प्रदेश र स्थानीय तहमा नेकपाको सरकार भएको बेलामा बजेट ल्याउन सजिलो भएको छ”, उहाँले भन्नुभयो, “नेमकिपा र काङ्ग्रेसले गर्न नसकेको विकास नेकपाले दुई वर्षमा गरेर देखाएको छ ।”

नेकपाका केन्द्रीय सदस्य एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले यहाँका हरेक वडामा रु १० करोडदेखि १५ करोडसम्मका योजना सञ्चालनमा रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य सरस्वती बाटी, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेकपा जिल्ला कमिटी सचिव डिपी ढकाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।