बढी भाडा लिने छ सवारीसाधन नियन्त्रणमा

Oct 7th, 2019

पोखरा, २० असोज (रासस)

दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका छ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको छ ।

दशैँ मनाउन घर फर्कने यात्रु नठगिऊन् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने मुख्य सडकमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

यात्राका क्रममा बीच बाटोमा यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी रुपमा बढी भाडा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न चेकिङका साथै सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउँदै उहाँले यस क्रममा बढी भाडा असुल गरेको छ वटा सवारीसाधन र चालकलाई पक्राउ गरी थप अनुसन्धान गरिएको बताउनुभयो । मनोमानी रुपमा बढी भाडा लिई बार्गेनिङ गरी बढी भाडा असुल गरेको पाइएमा प्रहरीमा खबर गर्न उहाँले सबैसँग आग्रह गर्नुभयो ।