• गृहपृष्ठ
  • अरुसँग लड्नसक्ने पार्टी बनाऔँ : सभापति देउवा

अरुसँग लड्नसक्ने पार्टी बनाऔँ : सभापति देउवा

Sep 30th, 2019

बनेपा, १२ असोज (रासस)

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफँैसँग लड्ने नभई अरुसँगै लड्नसक्ने पार्टी बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकले आज यहाँ आयोजना गरेको ‘विजया दशमी, दिपावली, छठ र ल्होछार’को शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा उहाँले पार्टीभित्र आफैँ झगडा गरेर पार्टी बलियो नहुने बताउनुभयो । 

“झगडा गर्ने पार्टी नबनाऔँ”, सभापति देउवाले भन्नुभयो, “पार्टीभित्र आफू आफैँमा झगडा गरेपछि चुनावमा जनताले भोट हालेन भनेर कसरी भन्ने रु” उहाँले अन्तिम सत्य जनता भएकाले पार्टी जनतामाझ जानुपर्ने बताउनुभयो । कम्युनिष्टको दुई तिहाइ सरकार छ भनेर कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको देउवाको भनाइ थियो । 

काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले पछिल्लो समयमा चीनका नेताको विचार पढेर त्यसलाई लागू गर्न खोजेको आरोप लगाउनुभयो । काङ्ग्रेसले प्रतिपक्षमै रही नीतिगत पक्षमा अडान लिनसक्नुपर्नेमा पार्टी नेतृत्वले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । “नेतृत्वले नयाँ विचार, नयाँ दृष्टिकोण, नयाँ शैली, आचरण, व्यवहार र नयाँ संस्कार दिन सक्नुपर्छ”, नेता सिटौलाले भन्नुभयो । 

नेपाल शिक्षक महासङ्घका केन्द्रीय महासचिव लक्ष्मीप्रसाद सुवेदीले सरकारले राहत शिक्षक र बालविकास केन्द्रमा अध्यापन गर्दै आएका शिक्षक/शिक्षिकाको तलब वृद्धि गर्नुपर्ने बताउनुभयो । नेपाल शिक्षक सङ्घ प्रदेश नं ३ का अध्यक्ष नारायणप्रसाद तिमल्सिनाले शिक्षकका समस्याबारे ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।