‘अक्सन मार्केट’ निर्माणको काम अलपत्र

Sep 29th, 2019

पशुपतिनगर, १७ फागुन 
नेपाली चियाको लिलाम बिक्री केन्द्र ‘अक्सन मार्केट’ बनाउन अध्ययन र अवलोकनमै करीब रु एक करोड खर्च भइसके पनि अहिले काम ठप्प रहेको छ । 

आर्थिक वर्ष २०७५÷७६ का लागि सरकारको बजेटमा चियाको अक्सन मार्केट निर्माणले प्राथमिकता नपाएपछि काम ठप्प भएको हो । किसान र व्यवसायीले अक्सन मार्केट निर्माणका लागि माग गरेपनि सरकारले बजेटमा चिया र अक्सन मार्केट निर्माणमा चासो नदिएको सूर्योदय टि एशोसिएशनका सचिव गोपाल कट्टेलले बताउनुभयो । 
“हामीले वर्षौदेखि माग गरेपनि चालु आर्थिक वर्षमा अक्सनका विषयमा कार्यक्रम नै छैन”, उहाँले भन्नुभयो, “चिया तथा कफि विकास बोर्डमार्फत अक्सन मार्केट निर्माणका लागि रु एक करोड रुपियाँ खर्च भइसकेको छ ।” चियाको अन्तर्राष्ट्रिय बजार नहुनु, टे«डमार्कमा ढिलाइ हुनु र उत्पादित तयारी चियालाई भारतको कोलकाताकै अक्सनमा पठाउनुपर्ने बाध्यताले व्यवसायी र किसानले सरकारसँग नेपालमै अक्सन मार्केट निर्माणको माग गर्दै आएका छन् । 

अक्सन बनाउने ठाउँ, अक्सनको सम्भाव्यताका विषयमा प्रयास धेरै रहे पनि सरकारले महत्व नबुझेको केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहालले बताउनुभयो । सरकारले चियाको बजार, विदेशी मुद्रा आर्जनको बाटो र उद्योगी व्यवसायीका बारेमा नबुझ्दा चिया क्षेत्रको समस्या समाधान नहुने दाहालले बताउनुभयो । 

चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडमार्फत अघिल्ला दुई आर्थिक वर्षमा नेपाली चियाको अक्सनका लागि झापाको धुलाबारी र विर्तामोडलाई स्थान छनोट गरिएको थियो । अक्सन कार्यालय, वायर हाउस, ल्याब बनाउन पनि त्यसबेला अध्ययन गरिएको थियोे । 

सूर्योदय नगरपालिकाले अक्सन मार्केट निर्माणका लागि नगरसभाबाटै प्रस्ताव चालू आर्थिक वर्षमा पारित गरेको थियो । नगरपालिकाले विसं २०७४ चैतमा विदेशी क्रेता ल्याएर इलाममा उत्पादित साना उद्योगको ‘टी टेस्टिङ’ गराएको थियो । भारतको कोलकाताकै भर परेको नेपाली चियाका लागि अक्सन मार्केट नहुँदा थप जटिल बनेको व्यवसायी प्रदीप अग्रवालले बताउनुभयो । 

नेपालमा अक्सन चलाउँदा अक्सनमार्फत बिक्री हुने चियाको ६० प्रतिशत भ्याट फिर्ताको व्यवस्था, अक्सनमा राखिएको चियालाई धितो राखेर ऋण लिन पाउनुेपर्ने र अक्सन चलाउन सुलभ ऋणको व्यवस्था हुनुपर्ने प्रस्ताव व्यवसायीले गरेका छन् । व्यवसायीको माग बजेटमा नसमेटिएपछि अक्सन सञ्चालन हुन नसकेको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताउनुभयो । रासस