• गृहपृष्ठ
  • पढ्नैपर्ने पुस्तक ‘परराष्ट्रका पात्र’ बजारमा

पढ्नैपर्ने पुस्तक ‘परराष्ट्रका पात्र’ बजारमा

Sep 29th, 2019

काठमाडौँ, ११ साउन 

आवासीय विद्यालय, ‘मिशन स्कूल’ र विदेशमा पढेका प्रतिस्पर्धीलाई पाखा लगाउँदै गाउँको सामान्य विद्यालयमा पढेको एउटा ठिटो अन्तर्राष्ट्रिय सम्बन्धको जानकार कसरी भयो ?

परराष्ट्र सचिव, जापान र जर्मनीको राजदूत अनि राष्ट्रपति विद्यादेवी भण्डारीको परराष्ट्र मामिला र कूटनीति विषयविज्ञका रुपमा सेवा गरिसकेका मदनकुमार भट्टराईको कूटनीतिक कर्मको झण्डै चार दशकको इतिवृत्त  ‘परराष्ट्रका पात्र’ मा समेटिएको छ । 

अन्तर्राष्ट्रिय सम्बन्धमा नै महाविद्यावारिधिको उपाधि हासिल गरेका अजातशत्रुु तिनै भट्टराईको स्मरणात्मक कृति किताब प्रकाशनले बजारमा ल्याएको हो ।
 
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आज राजधानीमा विमोचन गर्दै हरेक विषयका जानकार सरल एवं सहृदीय भट्टराईको व्यक्तित्व र कृतित्वको चर्चा गर्नुभयो ।
 
पूर्व राजदूत शङ्कर शर्माले विमोचित कृतिका विविध आयामको समीक्षा गर्दै भट्टराईको सीपयुक्त सुुझबुझपूर्ण कूटनीति सञ्चालनको प्रशंसा गर्नुभयो ।

पत्रकार घनश्याम खड्का र डा रीता थापाले पुस्तकका केही शीर्षकका विषयवस्तु र सन्दर्भको विश्लेषणात्मक प्रस्तुति पेश गर्नुभएको थियो भने लेखक भट्टराईले पुस्तक लेखनका उद्देश्यबारे जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय सम्बन्धबारे रुचि राख्ने विद्यार्थी र अनुसन्धातालगायतलाई बहुउपयोगी उक्त पुस्तक लेखक भट्टराईले आफ्ना मातापिता होमकुमारी र बलराम भट्टराईप्रति समर्पण गर्नुभएको छ । रु ६०० मूल्यको उक्त पुस्तकमा ‘जैसीकोठा र मुन्सीखाना, मुन्सी कप्तानदेखि शिष्टाचार महापाल, डाइरेक्टर जनरल ः पाँच प्रयोग, विपी र विदेश मामिला’लगायत १० शीर्षकमा लेखक भट्टराईले कलम चलाउनुभएको छ ।रासस