‘फेवा मानुषी’ लोकार्पण

Sep 29th, 2019

पोखरा, २६ जेठ     
साहित्यकार तथा कवि ठाकुरप्रसाद त्रिपाठीको तेस्रो कृति ‘फेवा मानुषी’को शनिबार यहाँ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।     
‘दीपशिखा साहित्य सङ्गम’ कास्कीद्वारा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले फेवा मानुषी खण्डकाव्यको लोकार्पण गर्नुभयो । खण्डकाव्यमा पर्यटकीय नगरी पोखराको मुख्य आकर्षण फेवाताललाई ब्रम्हाकी छोरी तथा एक महिलाका रुपमा चित्रित गर्दै मानवीय अतिक्रमणसँगै दिनानुदिन यसको सौन्दर्य विकृत बन्दै गएको विषयलाई मुख्य आधार बनाइएको छ ।     
पोखरा महानगरपालिका–२४ कास्कीकोटमा जन्मेका त्रिपाठी पूर्वशिक्षक तथा हाल रेडक्रस सोसाइटी कास्कीकोट उपशाखा र प्रसिद्ध धार्मिक तथा पर्यकटीयस्थल गुप्तकालिका कश्यप धार्मिक क्षेत्र विकास समितिमा आबद्ध हुनुहुन्छ । उहाँका यसअघि दुई कृतिहरू ‘राम्रो म’ र ‘आर्तनाद’ प्रकाशित भइसकेका छन् ।     
खण्डकाव्यकार त्रिपाठीले फेवातालको संरक्षण हामी सबैको कर्तव्य भएको उल्लेख गर्दै यसबाट भूत, भविष्य र वर्तमान पाएको चर्चा गर्नुभयो । प्रदेशसभा सदस्य पहारीले ऐन कानूनले राष्ट्र तथा समाजमा ल्याउन नसकेको परिवर्तन साहित्यमार्फत ल्याउन सकिने उल्लेख गर्दै फेवातालको बिग्रँदो अवस्थालाई रोक्न ‘फेवा मानुषी’ खण्डकाव्यले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।     
रासस