• गृहपृष्ठ
  • स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छ ः राष्ट्रपति

स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छ ः राष्ट्रपति

Sep 29th, 2019

ओखलढुङ्गा ९ जेठ 
पूर्णप्रसाद न्यौपाने     

 राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औ जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका –१२ मा स्थापित उहाँको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्रष्टाको सिर्जनाले दशकौंँअघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा रहेको बताउनुभयो ।     
 राष्ट्रपति भण्डारीले भन्नुभयो, “युगकवि सिद्धिचरणसहितका सर्जकको योगदानले नेपालको दिगो विकास र ठूलाठूला परिवर्तनमा भूमिका खेलेको छ । त्यो योगदानको हामीले सम्मान गर्नुपर्छ ।” राष्ट्रपति भण्डारीले कला, साहित्य र खेलकुदको विकासका लागि सरकारले नीतिगत पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा पुग्न सरकारले सबै क्षेत्र र वर्गलाई समेट्न सक्नुपर्ने पनि बताउनुभयो ।     
 राष्ट्रपतिले जलस्रोतको सदुपयोग, पर्यटन प्रवद्र्धन र रैथाने कृषि प्रणालीलाई आधुनिकीकरण गरेर समृद्धिको अभियानमा जुट्नुपर्ने धारणा राख्नुभयो । रुम्जाटार विमानस्थललाई पुनःसञ्चालन गराउन र निर्माणाधीन दोभास विमानस्थललाई वैकल्पिक मार्गका रुपमा विकास गर्न ध्यानाकर्षण गराउँदै विसं २०७४ वैशाख १ गते आफूले उद्घाटन गरेको थोलेदेम्बा महोत्सवको निरन्तरता र त्यस क्षेत्रमा भएको विकासले आफू सन्तुष्ट रहेको बताउनुभयो ।  राष्ट्रपति भण्डारीले स्थानीय समुदायलाई रोजगारी उपलब्ध गराउन उद्योगग्रामको अवधारणा ल्याउन तथा स्वच्छ नागरिक र अब्बल खेलाडी उत्पादन गर्न विद्यालय तहदेखि नै खेलकुदका कार्यक्रम गर्न सुझाव दिनुभयो । तीनै तहका सरकारको प्राथमिकतामा परे पर्यटन क्षेत्रको विकासले नेपाललाई समृद्ध बनाउने राष्ट्रपति भण्डारीको भनाइ थियो ।     
 सिद्धिचरण नगरपालिका र सिद्धिचरण स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले युगकविका सपना पूरा गर्नका लागि एकताबद्ध भएर विकासको अभियानमा जुट्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका मुद्दा साझा बन्नुपर्दछ । स्रष्टाका सपना साकार हुनुपर्दछ । तब मात्रै युगकविको सम्मान गरेको मानिनेछ ।” आफ्नो पनि जन्मभूमि भएकाले ओखलढुङ्गाको विकासका लागि आफूले सक्दो पहल गर्ने आश्वासन उहाँले दिनुभयो ।     
 मुख्यमन्त्री शेरधन राईले भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण गर्न प्रदेश सरकारले नीतगत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै युगको माग र आवाज बोल्न सक्ने युगकविको योगदानलाई कदर गर्दै ओखलढुङ्गालाई साहित्यिक भूमिका रुपमा विकास गरिने बताउनुभयो । प्रतिनिधिसभाका सदस्य यज्ञराज सुनुवारले थोलेदेम्बा महोत्सवपछि पर्यटकीय क्षेत्रका रुपमा विकासका काम अघि बढेको बताउनुभयो । पूर्वसांसद रामहरि खतिवडाले पूर्वको कर्णालीका रुपमा हेरिएको ओखलढुङ्गालाई विकासको नमूना जिल्ला बनाउन आग्रह गर्नुभयो । सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले नगरपालिकालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तथा स्वच्छ र समृद्ध नगर बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।     
रासस