• गृहपृष्ठ
  • देशको स्तरोन्नति मुख्य लक्ष्य : सभामुख महरा

देशको स्तरोन्नति मुख्य लक्ष्य : सभामुख महरा

Sep 25th, 2019

काठमाडौँ, ७ असोज (रासस)

सभामुख कृष्णबहादुर महराले सन् २०३० सम्ममा नेपालले कम आयबाट मध्यम आम्दानी हुने देशमा स्तरोन्नति गर्ने लक्ष्य राखेको बताउनुभयो ।  ‘ग्रेटर युरेशिया स् संवाद, भरोसा, साझेदारी’ मूल नाराका साथ कजाखस्तानको अस्तानामा शुरु भएको युरेशियाली देशका सभामुखहरुको चौथो बैठकलाई सम्बोधन गर्दै सभामुख महराले लक्ष्य प्राप्तिका लागि नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणासहित अघि बढेको जानकारी दिनुभयो ।

सभामुख महराले भन्नुभयो, “नेपालले बजारमा आधारित अर्थतन्त्रको विकास गर्न, समष्टि–अर्थतन्त्रलाई स्थिरता दिन र सामाजिक–आर्थिक विकासको गति बढाउन अनुकूल राजनीतिक वातावरण सिर्जना गर्नेतर्फ ध्यान केन्द्रित गरेको छ ।”

अहिलेको विश्व अर्थव्यवस्थामा सबै विश्वव्यापी रुपमा एक अर्कासँग जोडिएको बताउँदै सभामुख महराले कोही पनि अलग रहन नसक्ने बताउँदै उहाँले भन्नुभयो, “युरोप र एशियाका देशहरूबीचको सहकार्यले विश्वलाई शान्ति, दिगोपन र आर्थिक विकासतर्फ पु¥याउने छ । ग्रेटर युरेशियाको दर्शन फराकिलो, दूरदर्शी र महत्वपूर्ण छ ।”

‘ग्रेटर युरेशियाः संवाद, भरोसा र साझेदारी’ विषयवस्तुमाथिको छलफलले युरेशियन देशहरुमा शान्तिमय, न्यायपूर्ण र समावेशी समाज निर्माण गर्न सहयोग पु¥याउने बताउँदै सभामुख महराले ‘समग्र युरेशियाले विश्वको ६५ प्रतिशत जनसङ्ख्या, ७५ प्रतिशत ऊर्जा स्रोत र ४० प्रतिशत विश्वव्यापी जिडिपीको प्रतिनिधित्व गर्दछ भन्नुभयो ।

दृढ राजनीतिक इच्छाशक्ति, प्रतिबद्धता र कार्यान्मुख दिशा नै विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्ने मार्ग भएको चर्चा गर्दै सभामुख महराले भन्नुभयो, “जनताको प्रतिनिधिमण्डलका रूपमा संसद्ले आवश्यक कानूनहरुको निर्माण, बजेट स्वीकृति र सरकारको नीति तथा कार्यक्रमहरूको निरीक्षण गरी परिवर्तनको स्वामित्व लिन आवश्यक छ ।”

सबैको साझा एजेन्डा दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन, गरिबी न्यूनीकरण, वातावरण संरक्षण एवं समावेशी लोकतन्त्र प्रवद्र्धन गर्ने सबैको साझा एजेन्डा भएको उहाँले बताउनुभयो ।