• गृहपृष्ठ
  • राष्ट्रसङ्घका उच्च अधिकारीद्वारा नेपालको प्रशंसा

राष्ट्रसङ्घका उच्च अधिकारीद्वारा नेपालको प्रशंसा

Sep 25th, 2019

विशेष प्रतिनिधि शरच्चन्द्र भण्डारी
न्यूयोर्क, ७ असोज (रासस)

संयुक्त राष्ट्रसङ्घीय शान्ति सैन्यमार्फत विश्व शान्ति स्थापनामा नेपालले गरेको योगदानको राष्ट्रसङ्घका उच्च अधिकारीले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
 
संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार भएको शिष्टाचार भेटमा उक्त विश्व संस्थाको शान्तिकार्य विभागका उपमहासचिव जा पियरे लाक्वाँ र शान्तिकार्य समन्वय विभागका उपमहासचिव अतुल खरेले नेपाली शान्ति सेनाको बहादुरी, व्यावसायिकता र इमानदारीको प्रशंसा गर्नुभएको हो । 

नेपालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यलाई अन्तरराष्ट्रिय शान्ति तथा स्थायित्वका लागि उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री ज्ञवालीले त्यस कार्यमा सदैव आफ्नो क्षमताअनुसारको सहयोग नेपालबाट निरन्तर प्राप्त हुने प्रतिबद्धता जनाउनुभयो ।
 
“नेपालको परराष्ट्र नीतिको अभिन्न अङ्गको रुपमा संयुक्त राष्ट्रसङ्घका लक्ष्य तथा उद्देश्यलाई लिइएको छ, शान्ति स्थापनाका कार्यलाई उच्च प्राथमिकता दिइएको छ”, मन्त्री ज्ञवालीले भन्नुभयो । मन्त्री ज्ञवालीले नेपालको योगदान र सहभागिताका आधारमा कार्यक्षेत्र र प्रधान कार्यालयमा उच्च तहमा नेपालको उपस्थिति अपरिहार्य भएको बताउनुभयो ।
 
संयुक्त राष्ट्रसङ्घले नेपाली शान्ति सेनाको सङ्ख्या बढाउन अनुरोध गरेमा त्यसका निम्ति नेपाल सरकार तयार रहेको जानकारी पनि मन्त्री ज्ञवालीले उपमहासचिवद्वयलाई दिनुभएको थियो । दुवै भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई, नायब  स्थायी नेपाली प्रतिनिधि घनश्याम भण्डारी उपस्थित हुनुुहुन्थ्यो ।