• गृहपृष्ठ
  • असोज १० बाट नयाँ नोट पाइने, यसपाली प्रतिव्यक्ति १८ हजार ५ सय मात्रै

असोज १० बाट नयाँ नोट पाइने, यसपाली प्रतिव्यक्ति १८ हजार ५ सय मात्रै

Sep 23rd, 2019

काठमाडौं, ६ असोज 
नेपाल राष्ट्र बैंकले दशैंका नयाँ नोट असोज १० गतेबाट बाड्न सुरु गर्ने भएको छ । राष्ट्र बैंकसँगै अन्य बैंक तथा वित्त सस्थाले पनि असोज १० गतेबाटै नयाँ नोट बाड्न सुरु गर्नेछन् । यो वर्ष राष्ट्र बैंकले एक व्यक्तिलाई १८ हजार ५ सय मात्रै नयाँ नोट सटही गर्ने  भएको छ । यसबाहेक लिन चाहेमा राष्ट्र बैंकले सुकिला नोट दिने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताउँछन् । उनले भने ‘ नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकले गर्ने खर्च ठूलो छ, दशैमा सटही गरेका कैयन नोटमा रङ लागेका कारण नष्ट गर्नुपर्ने स्थिती छ ।

दशैं तथा पुजापाठका क्रममा रङ लागेका फोहरा नोटहरु राष्ट्र बैंकले अहिलेसम्म ४ खर्ब ३७ अर्ब बराबरको जलाएको छ । फोहरा नोट जलाउने र नयाँ नोट छाप्ने गर्दा खर्च बढ्दै छ । त्यसैले यस्तो खर्च रोक्नका लागि राष्ट्र बैंकले यो वर्ष देखि सुकिला नोटहरु सटही गर्न लागेको हो ।

निरौलाका अनुसार एक हजार र पाँच सय दरका नोटको आयु करिब ३ वर्ष हुन्छ । त्यसैगरि त्यो भन्दा साना दरका नोटको आयु भने करिब २ वर्ष हुन्छ । तर दशैमा बितरण गरेका नोटहरु एक महिनामै नष्ट गर्नुपर्ने हुन्छ । ‘दशैका बेलामा टिका लगाउँदा मात्रै होइन, काटमार गर्नेहरुले पनि रगत लागेकै हातले नोट समाउदा र तरकारी बेच्ने ठाउका मानिसहरुले पनि नोट फोहर गर्ने गरेको पाएका छौं ।’ निरौलाले भने ।

नोटमा केरमेट गर्नेको संख्या पनि सानो छैन । नोटमा केरमेट गरेमा ५ हजार जरिवाना र तीन महिनासम्म जेल चलान गर्न सक्ने व्यवस्था  भएपनि यो कार्यान्वयनमा आउन सकेको छैन । निरौला भन्छन् ‘ कार्वाहिका कामहरु पनि हामीले विस्तारै अघि बढाउँछौ. अब ।’ गत वर्ष साढे १२ अर्ब नोट सटही गरेको राष्ट्र बैंकले यो वर्षको दशैका लागि पनि सोहि परिमाणमा सटही गर्ने भएको छ ।  

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष नयाँ नोट छाप्नका लागि ३ अर्ब खर्च गर्ने गरेको छ । नोट फोहर गर्ने गरेका कारण राज्यको यती ठूलो परिमाणमा खर्च भएको हो । जसलाई रोक्नका लागि कानुन कार्यान्वयन गर्नु जरुरी छ । साथै यसका लागि जनचेतना समेत बढाउनु जरुरी हुन्छ ।