• गृहपृष्ठ
  • जाइकाको निमन्त्रणामा मन्त्री पुन जापान जाँदै, नलसिंङगाड जलविद्युत परियोजना अघि बढाउनेबारे छलफल हुने

जाइकाको निमन्त्रणामा मन्त्री पुन जापान जाँदै, नलसिंङगाड जलविद्युत परियोजना अघि बढाउनेबारे छलफल हुने

Sep 23rd, 2019

काठमाडौं, ६ असोज
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ जापान भ्रमणमा जाँदै हुनुहुन्छ । जापानी विकास नियोग (जाइका) को निमन्त्रणामा मन्त्री पुन सोमबार साँझ चार दिने जापान भ्रमणमा जान लाग्नुभएको हो । जापान भ्रमणमा जानुअघि उर्जामन्त्री पुनसँग जापानी राजदूत मासामिची साइगोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।  

सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा र जलस्रोतको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

जापानी राजदूतले भेटमा मन्त्री पुनको जापान भ्रमण र त्यसका ऐजेण्डाबारे छलफल गर्नुभएको थियो । उर्जामन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित सोमबार राति जापानको ओसाका जाने कार्यक्रम छ । 

जापान भ्रमणको क्रममा मन्त्री पुनले जापानको लिवरल डमोक्रेटिक पार्टीका महासचिव निकाई टोसिहिरो, जाइकाका उपाध्यक्ष हिरोसी कातो, जापानको कृषी तथा वन मामिलासम्बन्धी मन्त्री इटो योशिताका, जापानको परराष्ट्रमन्त्रालयका उच्च अधिकारीका साथै नेपाल–जापान पार्लियामेन्टिरियनस फ्रेण्डसिप लिगका अध्यक्षसहतिका पदाधिकारीसंग भेटवार्ता गर्ने कार्यक्रम छ । 

उहाँले जापान भ्रमणको क्रममा नेपालको जलविद्युत क्षेत्रमाको सम्भावना र  लगानीबारे समेत जापानी लगानीकर्तासंग अन्र्तक्रिया गर्ने कार्यक्रम छ । कार्यक्रममा फुजी र कान्साईलगायतका विश्वप्रख्यात कम्पनीको समेत सहभागिता रहनेछ । त्यसका साथै जापानमा बसोवास गरिरहेका नेपाली समुदायसंग समेत समृद्ध नेपाल निर्माणमा उर्जाको महत्व र प्रवासी नेपालीको भूमिका विषयक अर्न्तक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको मन्त्री पुनको सचिवालयले जनाएको छ । 

मन्त्री पुनले जाइकाका उपाध्यक्षसंगको भेटमा जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत परियोजनालाई अन्तिम टुंगो लगाउने विषयमा समेत छलफल गर्नुहुनेछ । नेकपाका नेता समेत रहेका मन्त्री पुनको भ्रमण उक्त परियोजनालाई अघि बढाउने विषयमा केन्द्रित हुनेछ । 

नलसिंङगाड परियोजना जाइकाले पिपिपी मोडेलमा अध्ययन गरिरहेको छ । उक्त परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्न उर्जामन्त्री पुन जापान भ्रमणमा जान लाग्नुभएको मन्त्री पुनका स्वकिय सचिव दुर्गा चापांगाईले जानकारी दिनुभयो । मन्त्री पुनले यसअघि पनि जापानी राजदूत साइगोसंगको नलसिंङगाड जलविद्युत आयोजनालाई अघि बढाउने विषयमा छलफल गर्नुभएको थियो ।