• गृहपृष्ठ
  • ९२ हजारले अवलोकन गर्दै सकियो स्टक क्लियरेन्स मेला, ग्राहकको चापले व्यवसायी उत्साहित

९२ हजारले अवलोकन गर्दै सकियो स्टक क्लियरेन्स मेला, ग्राहकको चापले व्यवसायी उत्साहित

Sep 22nd, 2019

काठमाडौं, ५ असोज
दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा आयोजना गरिएको स्टक क्लियरेन्स मेला सकिएको छ । गत बुधबारदेखि सुरु भएको मेलाको ५ दिनमा ९२ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । चाड पर्वका लागि सस्तोमा सामान किन्न आउनेहरुको चापले आयोजक तथा व्यवसायीहरु उत्साहित बनेका छन् । 

इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भएको मेलाले एकै छानामुनी सेवाग्राहीलाई सस्तो मूल्यमा गुणस्तरीय सामान किन्ने अवसर प्रदान गरेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए । आगामी दिनहरुमा पनि यस किसिमका मेलाहरुलाई चेम्रले प्रवद्र्धन गर्दै लैजाने उनको भनाई छ । असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा तथा शनिबार २ दिन विदा परेका कारण अवलोकनकर्ताको बाक्लो उपस्थिती भएको इभेण्ट सोलुसन प्रलिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । 

इभेण्ट सोलुसनले पछिल्लो ३ वर्षदेखि नियमित रुपमा स्टक क्लियरेन्स मेला आयोजना गर्दै आईरहेको छ । चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो । ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ सञ्चालन गरिएको मेलाबाट उपभोक्ता र व्यवसायी दुवै लाभान्वित भएको इभेण्ट सोलुसनका बजार निर्देशक नविन भट्टले बताए । 

मेलामा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको शोरुममा अवलोकनकर्ता तथा ग्रागहकको विशेष चाप देखिएको थियो । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने भएकाले खरिदकर्ताको चाप बढेको बिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार स्टक क्लियरेन्स मेला सकिए पनि ४ ब्राण्डको जुत्ता मेला भने फूलपातीसम्म निरन्तर चलिरहेछ । अलग्गै डूममा चलिरहेको जुक्ता मेलामा स्पोर्टस, क्याजुअल तथा पार्टी सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराइएको थियो । 

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको थियो । दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट विशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोको प्रवद्र्धन नेपाल चेम्बर अफ कमर्शले गरेको हो ।