• गृहपृष्ठ
  • जनताले ल्याएको संविधान भन्दामाथि कोही पनि छैन : पूर्वसभामुख नेम्वाङ

जनताले ल्याएको संविधान भन्दामाथि कोही पनि छैन : पूर्वसभामुख नेम्वाङ

Sep 22nd, 2019

इलाम, ५ असोज (रासस)

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभाबाट निर्माण भएको संविधान भन्दामाथि कोही नभएको बताउनुभएको छ । शनिबार यहाँ आयोजित ‘इलाम साहित्य महोत्सव’को कार्यक्रममा नेम्बाङले वर्तमान सरकारमाथि औँला उठाउनु आवश्यक नभएको बताउँदै संविधानभन्दा माथि गएर सरकारले कुनै काम नगर्ने बताउनुभयो ।
 
उहाँले विगतका संविधानसँग दाजेर संविधानसभाबाट निर्माण भएको संविधानलाई अवमूल्यन गर्न खोजेको भन्दै संविधानभन्दा बाहिर गएर कसैले केही गरे त्यो स्वीकार नहुने उल्लेख गर्नुभयो । 
“अब नेपाली जनताले अधिकारका लागि लड्नु पर्दैन”, नेम्वाङले भन्नुभयो, “सबै अधिकार हाम्रो संविधानले दिइसकेको छ, सबैका भावना समेटिएको छ ।”

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपनेतासमेत रहनुभएका नेम्वाङले सरकारले जनताको भावनाविपरीत कुनै काम नगर्ने भन्दै त्यसबारेमा सबैले बुझ्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
 
संविधानको प्रस्तावनामा नै जनताले निर्माण गरेको ‘बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलक’ लेखिएकाले पनि सबैको पहिचानलाई अपनत्व गरेको बुझ्नुपर्ने नेम्वाङले स्पष्ट पार्नुभयो ।

  कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले इलामको साहित्यिक महोत्सवमा ‘के गणतन्त्र खतरामा छ रु’ भन्ने शीर्षकमाथि बहस गर्दै उहाँले राष्ट्र र राष्ट्रियताका विषयमा सत्तापक्ष र विपक्ष भन्न नमिल्ने बताउनुभयो ।
 उहाँले नेपालमा गणतन्त्रमाथि खतरा भएको बताउँदै वर्तमान सरकारले अनावश्यक आशङ्का गरेको आरोप छ भन्नुभयो ।  उहाँले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसक्नाले गणतन्त्रको विषय प्रवेश गरेर ‘पानीमाथिको ओभानो’ हुन खोजेको शर्माले आरोप लगाउनुभयो । शर्माले काङ्ग्रेस धर्मनिरपेक्षता र गणतन्त्र ल्याउन लडेको पार्टी भएकाले यसमाथि काङ्ग्रेस कटिबद्ध रहेको बताउनुभयो ।