• गृहपृष्ठ
  • जनगायक भृगुराम श्रेष्ठको उपचारार्थकाे लागि अभियान सुरु

जनगायक भृगुराम श्रेष्ठको उपचारार्थकाे लागि अभियान सुरु

Sep 22nd, 2019

काठमाडौं, ५ असोज 
कहिल्यै कसै प्रति गुनासो नराख्ने मृदुभाषि जनगायक भृगुराम श्रेष्ठको उपचारार्थ अभियान थालिएको छ । शनिवार नेवाः जागरण मञ्चद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा उठेको  सहयोग ३२ हजार रूपैयाँ उहाँको परिवारलाई हस्तान्तरण गरिएको छ ।

साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरको अध्यक्षतामा जनगायक श्रेष्ठका लागि उपचार समिति गठन गरी उक्त सहयोग हस्तान्तरण गरिएको हो  । नेपाल भाषा र नेपाली भाषामा गीत, भजन, चलचित्रमा गीत गाउनुहुने गायक श्रेष्ठ मधुमेहबाट पीडित हुनुहुन्थ्यो । हाल महामारीको रुपमा फैलिएको डेङ्गुले सताएपछि हाल उपचारका लागि कुपण्डोलस्थित सर्वाङ्गनर्सिङ होममा उपचारका लागि भर्ना हुनुभएको छ । 

उमेरले ८४ वर्ष लाग्नुभएका गायकको उपचार आईसियुमा राखेर गर्नुपर्ने भएको हरेक दिनको खर्च २० हजारसम्म लागेको छ । उहाँको उपचारको लागि उहाँको श्रोता दर्शकले सहयोग गर्न समितिमार्फत जुटेको सञ्चारकर्मी सुजिव बज्राचार्यले जानकारी दिनुभयो । 

असन पुख्र्यौली थलोभई हेटौंडा निवासी जनगायक श्रेष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको समकक्षी हुनुहुन्छ । सर्जक श्रेष्ठले लेख्नुभएका अधिकाँश गीत गाउँदै आउनुभएका गायक श्रेष्ठ हालसम्म पनि धर्मकीर्ति विहारमा भजन गाउनुहुन्छ । उपचारका लागि आर्थिक सहयोग जुटाएर उहाँको योगदानको सम्मान गर्ने प्रयास स्वरूप जत्ति सक्दो सहयोग सङ्कलन गरी हस्तान्तरण गर्दै जाने सञ्चारकर्मी  एवं सहयोगका लागि जुटिरहनुभएका बज्राचार्यले बताउनुभयो ।