• गृहपृष्ठ
  • भारत र चीनको मुद्रा खस्कियो, के असर पर्ला नेपाली अर्थन्त्रमा ?

भारत र चीनको मुद्रा खस्कियो, के असर पर्ला नेपाली अर्थन्त्रमा ?

Sep 22nd, 2019

काठमाडौं, ५ असोज 
भारत र चीन दुवैको मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर भएको छ । यसरी छिमेकी मुलुकमा सस्तिएको मुद्राले नेपालमा बैदेशिक लगानी, पर्यटन र निर्यातमा प्रभाव पार्ने देखिएको छ । गत वर्ष भदौको अन्तिममा ६९ भारतीय रुपियाँमा एक अमेरिकी डलरखरिद गर्न सकिन्थ्यो । तर अहिले एक डलर खरिद गर्न ७१ भारु खर्च गर्नुपर्छ । भारतको अर्थतन्त्र सुस्ताएसँगै त्यहाँको मुद्रामा पनि संकुचन आएको छ ।

भारतको मात्र होइन, अहिले चिनियाँ मुद्रा पनि गत वर्षको तुलनामा कमजोर भएको छ । गत वर्ष ७ युआनभन्दा कम चिनियाँ युआनमा एक अमेरिकी डलर खरिद गर्न सकिन्थ्यो । तर अहिले ७ दशमलव १० चिनियाँ युआन खर्च गर्नुपर्छ । भारत र चीन दुवै मुलुकको मुद्रा खस्किएको असर नेपालमा, खासगरी पर्यटन व्यवसाय, निर्यात र ती मुलुकबाट आउने लगानीमा पर्ने अर्थशास्त्रीको भनाइ छ ।

नेपालमासबैभन्दा धेरै पर्यटक भारतबाट आउँछन् । वैदेशिक लगानीको ठूलो स्रोत पनि भारत नै हो । लगानी र पर्यटक धेरै पठाउने मुलुकमा चीन दोस्रो नम्बरमा छ । त्यति मात्र होइन,नेपालको निर्यात व्यापारमा पनि भारत र चीन नै ठूला हिस्सेदारहुन् । मुद्रा कमजोर हुँदा ती देशमा उत्पादित वस्तुको मूल्य घट्छ ।

जसका कारण त्यहाँका वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेर नेपाली वस्तुको निर्यात घट्ने जोखिम हुन्छ । तर ती मुलुकबाट कच्चा पदार्थ आयात गरेर प्रशोधित रुपमा तेस्रो मुलुकमा निर्यात गरेर फाइदा लिने अवसर भने नभएको होइन । भारुसँग नेपाली रुपैयाँको विनिमयदर स्थिर छ । यसको अर्थ भारु खस्केसँगै नेपाली मुद्रा पनि कमजोर भएको छ । चिनीयाँ मुद्रा कमजोर हुँदा भने यसले पर्यटन, बैदेशिक लगानी र निर्यातमा प्रभाव पार्नेछ ।