सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

Sep 21st, 2019

काठमाडौं, ४ असोज 

महोत्तरी, सर्लाही, सिराहा, रुपन्देही, दाङ, बाँके र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

महोत्तरी, बर्दिबास नगरपालिका-३ स्थित सडकमा ज.१ च १८०६ नम्बरको पिकअप गाडीले ज.१० प २०६५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ कालापानी बस्ने २० वर्षीय बिनोद कुमार भण्डारीको घटनास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सर्लाही, ईश्वरपुर नगरपालिका-५ स्थित सडकमा ना.३ त ५५४३ नम्बरको ट्याक्टरबाट खसेर सोही नगरपालिका-६ बस्ने ३० वर्षीया मन्दीरा माझीको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिराहा, धनगढीमाई नगरपालिका-८ बसन्तपुरस्थित सडकमा स.१० प ८००३ नम्बरको मोटरसाइकलले ज.४ प १०५१ नम्बरको मोटरसाइकल तथा साइकल समेतलाई शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका ज.४ प १०५१ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-७ बस्ने ४४ वर्षीय बिशेश्वर यादवको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।  दुर्घटनामा घाइते भएका स.१० प ८००३ नम्बरको मोटरसाइकलका चालक धनगढीमाई नगरपालिका-६ बस्ने ४५ वर्षीय रामजतन पालको आरके मेडिसिटी अस्पताल धनगढी तथा ज।४ प १०५१ नम्बरको मोटरसाइकलमा सवार धनगढीमाई नगरपालिका-८ बस्ने ३६ वर्षीय बिनोद साह र साइकलयात्री धनगढीमाई नगरपालिका-८ बस्ने ३२ वर्षीय शिवशंकर मण्डलको स्थानीय जनशक्ति क्लिनिक कसाहामा उपचार भइरहेको छ । 

रुपन्देही, ओमसतिया गाउँपालिका-२ स्थित सडकमा लु.३ त ६९९५ नम्बरको ट्याक्टरमा लु.२८ प ९९२४ नम्बरको मोटरसाइकल शुक्रबार राति ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका दुईजना पुरुषको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

दाङ, घोराही उपमहानगरपालिका-९ गुकाली डाँडास्थित सडकमा रा.४ प ७८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही उपमहानगरपालिका-९ बस्ने २५ वर्षीय मनोज बिक र मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय दिपक बिकको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको छ ।

बाँके, राप्ती सोनारी गाउँपालिका-९ नयाँगाउँस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

तनहुँ, आबुखैरेनी गाउँपालिका-३ स्थित सडकमा लु.१ ख ८००२ नम्बरको बसले बा.९९ प १४७३ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा शहिद लखन गाउँपालिका-२ घर भएका २८ वर्षीय यमबहादुर थापाको छिम्केश्वरी अस्पताल आबुखैरेनीमा उपचारको क्रममा मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।