• गृहपृष्ठ
  • बैरागी काईला जगदम्वाश्री र योगेशराज मदन पुरस्कारबाट सम्मानित

बैरागी काईला जगदम्वाश्री र योगेशराज मदन पुरस्कारबाट सम्मानित

Sep 21st, 2019

काठमाडौं, ४ असोज 
साहित्यकार तिलविक्रम नेम्वाङ्ग  (वैरागी काइला) जगदम्बा–श्री तथा योगेश राज मदन पुरस्कारबाट सम्मानित हुनुभएको छ । मदन पुरस्कार गुठीद्वारा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा कवि वैरागी काईला जगदम्बा–श्री २०७५ बाट पुरस्कृत हुनुभएको हो । त्यसैगरी लेखक योगेश राज मदन पुरस्कार–२०७५ बाट पुरस्कृत हुनुभयो । 

कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले पुरस्कार समर्पण गर्दै कवि वैरागी काईलालाई भाषा, संस्कार संस्कृति परम्पराको अध्ययन, लेखन अनुसन्धानका लागि जगदम्बा–श्री पुरस्कार चार लाख रुपियाँ नगदसहित सम्मानित  गरिएको  हो । 

मदन पुरस्कार बिजेता योगेश राजलाई भने पुस्तक रणहारमार्फत इतिहासलाई हेर्ने,बुझ्ने फरक आँखा भेटाउन पु¥याएको योगदानका लागि मदन पुरस्कार प्रदान गरिएको  बताउनुभयो । उहाँलाई पनि नगद चार लाख रूपियाँसहित पुरस्कार प्रदान गरिएको हो । जगदम्बा– श्री पुरस्कार बिजेता बैरागी काईला सन् १९३९ अगष्ट ९ तारिखका दिन पाँचथरको पावा सर्तावमा जन्मिनुभएका कवि काईला ८० वर्षको हुनुभयो ।
 
दार्जलिङ्गमा उच्च शिक्षा अध्ययनको क्रममा समकक्षी इश्वर वल्लव र इन्द्रबहादुर राईसँग मिलेर साहित्यमा तेस्रो आयामको अभियान चलाउनुभयो । साँझा पुरस्कार, गोरखा दक्षिणबाहु, युगकवि सिद्धिचरण पुरस्कार, हरिहर शास्त्रीलगायत दर्जनौ पुरस्कार पनि प्राप्त गर्नुभएको छ । उहाँले लिम्बु भाषा तथा मुन्धुम संस्कार संस्कृतिको अध्ययन अनुसन्धान तथा अभिलेखन गरी नेपाली वाङ्मयको समृद्धिमा उल्लेखनिय योगदान गर्नुभएको छ । 

वैरागी काइलाका कविताहरू, अन्धा मान्छेका हात्तीलगायत मुन्धुम सम्वन्धी स्रृङ्खलावद्ध पुस्तकलगायत  १३ वटा पुस्तक बजारमा छन् । मदन पुरस्कार बिजेता योगेश राजले  भक्तपुरका अन्तिम राजा रणजित मल्लको जीवनमा आधारित  ‘उपन्यास रणहार’ का लागि लेखक योगेश राजले यस वर्षको सो पुरस्कार प्राप्त गर्नुभयो । 

 आख्यानमार्फत ऐतिहासिक समय, भूगोल, कला संस्कृति र वास्तुकला तथा समग्रमा मध्यकालिन समाज बुझ्ने अवसर पाठकले पाएका छन् ।  यसले ऐतिहासिक आख्यान लेखनको परम्परालाई फराकिलो बाटो दिएको छ । कार्यक्रममा डा. रिता थापाले ‘शून्य तहदेखि  सहस्राब्दीतिरको यात्रा’ शीर्षकमा देशमा प्रर्वद्धन भैरहेको स्वास्थ्यको स्थितिमा सुधारको बारे विद्वद प्रवचन दिनुभएको थियो ।