थाइल्याण्डमा बाढीका कारण २० हजार फसे

Sep 20th, 2019

बैङ्कक,३ असोज  (रासस/सिन्ह्वा)
थाइल्याण्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दा बढी पीडितहरू बाढीका कारण विभिन्न ठाउँमा बसेको जनाएको छ  ।

विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २० हजार ६२० जना बाढीका कारण उत्तरपूर्वी प्रदेशहरूमा फसेका छन् ।

विभागका महानिर्देशक चायाफोल थितिसकले बाढी पहिरोबाट ३२ प्रदेश प्रभावित भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

ती प्रदेशहरूमा ‘पोडुल’ र ‘काजिकी’ नामक आँधीले दक्षिण पश्चिम क्षेत्रमा बर्षा पारेको उहाँले बताउनुभयो । 

गत अगस्त २९ देखि अहिलेसम्मको यो प्राकृतिक प्रकोपका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको पनि उहाँले जानकारी दिनुभयो । 
   
महानिर्देशक थितिसकले बाढी, पहिरो, अत्यधिक बर्षालगायतले उत्पन्न गरेको समस्याबाट देशभरका १८२ जिल्ला र ७१ सय १५ गाउँहरू प्रभावित भएको बताउनुभयो । उनीहरू प्राय उत्तरपूर्वी, उत्तरी र पूर्वी क्षेत्रका रहेका छन् । 

“यो आँधी र बर्षाले ४ लाख १८ हजार ५ सय ४९ घरहरू प्रभावित भएका छन् भने ३४ जनाको मृत्यु भएको छ र अरु कैयौँ घाइते भएका छन्,” उहाँले भन्नुभयो ।

बाढी, पहिरो, बर्षा लगायतका प्रकोपबाट प्रभावितहरूलाई खोजी तथा उद्धार र सहयोगका लागि सरकारी सेना र स्थानीय अधिकारी तथा स्वयमसेवकहरूलाई परिचालन गरिएको उहाँको भनाइ छ ।

बाढीका कारण फसेका २० हजार ६ सय २० जना यसोथोन, उबोन रात्चाथानी, रोइ इत र सिसा केटलगायतका प्रान्तहरूमा फसेका हुन् । 

राज्यका निकायहरूले बाढी पीडितहरूलाई सघाइरहेका छन्, उनीहरूले फसेकाहरूलाई उद्धार गर्ने प्रयास गरिरहेका छन् । 

बाढीका कारण डुवान परेको क्षेत्रमा पानी थाल्ने पम्पहरू पनि जडान गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । 

बाढीका कारण फसेकाहरूलाई खाना, पिउने पानी लगायतका अत्यावश्यक सामग्रीहरू उपलब्ध गराइएको उनीहरूको बताएका छन् ।