कला साहित्य उत्सवको तयारी

Sep 20th, 2019

भद्रपुर, १५ फागुन

झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा ‘कला साहित्य उत्सव २०७५’ कार्यक्रमको तयारी भइरहेको छ । दुई वर्षको अन्तरालमा रिडर्स झापाले आयोजना गर्दै आएको उत्सवमा देशभरका साहित्यकारको जमघट रहने रिडर्सका उपाध्यक्ष दामोदर ढुङ्गेलले बताउनुभयो । 

यही फागुन १८ गतेदेखि २० गतेसम्म हुने उत्सवमा विचारविमर्शदेखि विभिन्न साहित्यिक कार्यक्रमसम्म हुनेछन् । पहिलो दिन ‘साहित्यको दलन’ शीर्षकमा युग पाठक, जेबी विश्वकर्मा र सुधीर क्षेत्रीबीच विचारविमर्श हुने भएको छ । 
त्यस्तै, दोस्रो सत्रमा ‘समकालीन आख्यानमा वर्गचेत’ शीर्षकमाथि पुण्यप्रसाद खरेल, सरस्वती प्रतीक्षा र रेमिका थापाबीच बहस हुने र सोही दिन ‘अभिव्यक्ति र बहिष्करण’, ‘भूराजनीतिक चिन्तन’ मा महेन्द्र पी लामादेखि अनुभव अजितसम्मले बहस गर्ने कार्यक्रम रहेको उपाध्यक्ष ढुङ्गेलले जानकारी दिनुभयो । 

दोस्रो दिन, पहिलो सत्र ‘काव्यमा विद्रोह शीर्षक’ मा अभय श्रेष्ठ, गुरुङ सुशान्त र अभयविक्रम केसीबीच छलफल हुनेछ । त्यस्तै, सोही दिन ‘लोक चित्रकला विमर्श’, ‘सांस्कृतिक राष्ट्रवाद’, ‘कविता वाचन’जस्ता शीर्षकका कार्यक्रम हुनेछन् । 

पाँचौँ सत्रमा ‘पर्यावरणको खबर’ शीर्षकमा श्रद्धा घले, नारायण वाग्ले र रमेश भुसालबीच बहस हुनेछ । अर्को, ‘दलालीको दलदल’ शीर्षकमा राम कार्की, विष्णु सापकोटा र अखिलेश उपाध्यायबीच बहस र अन्तिम सत्रमा ‘दक्षिणपन्थीको सांस्कृतिक जग’मा आहुतीको एकल वाचन हुनेछ । 

अन्तिम दिन, पहिलो सत्रमा ‘समृद्धि यात्राका सङ्कट’ शीर्षकमा विश्व पौडेल र खगेन्द्र प्रसाईंबीच बहस हुनेछ । त्यस्तै, सोही दिन, ‘समाचार, झुटा समाचार र खरीद समाचार’, ‘समाज विज्ञान र मानविकीको सङ्कट’ विषयमा बहस हुनेछ । पाँचौँ सत्र ‘सत्ता र अभिव्यक्ति स्वतन्त्रता’ शीर्षकमा खगेन्द्र सङ्ग्रौला र सिके लालबीच बहस हुनेछ । अर्को सत्रमा ‘पुरुषको मुक्ति कसरी’ शीर्षकमा प्रणीका कोयु, आहुती र सीमा आभासबीच बहस हुनेछ । अन्तिम दिनको अन्तिम सत्रमा ‘प्रेम र यौनः पहेली अनेक’ शीर्षकमा प्रदीप गिरीले प्रवचन दिनुहुनेछ । 
रासस